चितवन, २२ बैशाख । पाँचदलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरबाट रेणु दाहाल नेतृत्वको टीमलाई जिताउने वाचा गरेको छ। चितवनको भरतपुर हाकिमचोकस्थित साझा बसपार्कमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्ने गठबन्धनका शीर्ष नेताहरुले भरतपुरमा गठबन्धनका उमेदवारलाई जिताउने बाचा गरेका हुन्।

chitwan 1

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र र संविधान बचाउन गठबन्धन गरिएकोले गठबन्धनका उमेदवारलाई जिताउनु अहिलेको मुख्य कार्यभार भएको बताए । उनले रेणुलाई महानगरको मेयर र चित्रसेनलाई उपमेयरमा जिताउन भरतपुरबासीलाई अपिल गरे।

333

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै देउवाले भरतपुर महानगरपालिकाको मेयर पदमा बखेडा नगर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। ‘षड्यन्त्रमा फस्यो भने हाम्रो पार्टी खतम हुन्छ,’ उनले भने, ‘यो गठबन्धन टुटाउने षड्यन्त्र चितवन, भरतपुरबाट हुनै सक्दैन।’

कार्यक्रममा सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री प्रचण्डले कांग्रेस र माओवादी केन्द्रको सहकार्य अहिलेको मात्रै नभई २०४६ सालदेखि शान्ति सम्झौता हुँदै अहिलेसम्म कुनै न कुनै रुपमा जारी भएकाले अहिले हँसिया हतौडामा भोट दिन आनाकानी गर्नु जरुरी नभएको बताए। उनले यदि रुखवालाले हँसिया हतौडामा र हसिया हतौडावालाले रुखमा भोट हाल्न नमान्ने हो भने देश दुर्घटनामा जान सक्नेतर्फ विचार गर्न अपिल पनि गरे।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले रेणुको नेतृत्वमा महानगरमा भएको कामको रिपोर्ट सुनेर आफू दंगदास भएको बताउँदै रेणुविनाको भरतपुर कल्पना गर्न नहुने बताए। उनले गठबन्धनबाट रेणु दाहाललाई भरतपुरको मेयरमा चयन गर्नु अत्यन्तै सान्दर्भिक र वस्तुवादी भएकाले रेणु दाहालको टिमलाई विजय गराउन आग्रह गरे।

सो क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनकै कारण नेपाली काँग्रेसले पुनर्जीवन पाएको विर्सन नहुने बताउँदै गठबन्धनलाई पूर्ण रुपमा विजय गराउन र दायाँ वाया नगर्न कांग्रेस कार्यकर्ताहरुलाई आग्रह गरे। पौडेलले गैडाकोटका पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्री बनाएको गठबन्धनकै कारण सम्भव भएको बताउँदै रेणु दाहालजस्तो विकासप्रेमी व्यक्तिलाई भरतपुरको मेयर बनाउन कुनै कसर बाँकी राख्न नहुने बताए।

जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले रेनु दाहालले भरतपुरमा गरेको विकास उल्लेखनीय रहेको बताए। रेनुलाई बाघको संज्ञा दिदै नेता श्रेष्ठले बाघ सुतेको बेला कराउने स्यालहरु जब बाघ निस्किन्छ, त्यसपछि कुलेलाम ठोक्ने बताए।


नेपाली कांग्रेस चितवनका पूर्व सभापति जितनारायण श्रेष्ठले आफूहरु भरतपुरमा रेणुलाई जिताउन तयार भएको र गठबन्धनको उमेदवारको जितलाई कुनै तागतले रोक्न नसक्ने बताउँदै दायाँ वायाँ सोचेका कांग्रेसका नेता कार्यकर्ताहरुले विना कुनै संकोच रेणु दाहाललाई हँसिया हतौडामा भोट हाल्न अपिल गरे। साथै श्रेष्ठले आगामी दिनमा आफूहरुलाई धोका नहुने ज्ञारेन्टी गरिनुपर्ने बताए।

कार्यक्रमका सभापति तथा कांग्रेस चितवनका सभापति राजेश्वर खनालले रेणु दाहालको नेतृत्वमा भएको महानगरको विकासलाई कुनै नजरअन्दाज गर्न नहुने र नेपाली कांग्रेसले खुला हृदयले गठबन्धनको तर्फबाट रेणु दाहालको टिमलाई विजय गराउन तयार भएको बताए। उनले चितवन कांग्रेस पार्टीको निर्णयलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजान तयार रहेको बताए ।

कार्यक्रममा रेणु दाहालले पाँच वर्षमा आफ्नो नेतृत्वमा भएको महानगरको विकास र प्रगतिको फेहरिस्त संक्षिप्तमा राख्दै आगामी दिनमा राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गरेर भरतपुरलाई गौरवको शहर बनाउने प्रतिवद्धता व्यक्त गरे। नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुर्यप्रकाश शर्माले स्वागत गरेका थिए।

कार्यक्रममा चितवनका सबै नगरपालिकाका उमेदवारहरु र भरतपुर महानगरका २९ वटै वडाका उमेदवार र नेता कार्यकर्ताहरुसहित हजारौं जनसमुदायको सहभागिता थियो ।

278938509_2028786777327579_1668318783671168787_n 1