लहान १८, वैशाख। परिस्थिति जे जस्तो आएपनी विपन्न परिवार र सम्पुर्ण नगरबासी (जनता) को सेवक भई आफू सदैव काम गर्ने समाजसेवी तथा नेपाली काङ्ग्रेसबाट लहान नगरपालिकाका मेयर पदका उम्मेदवार महेश प्रसाद चौधरीले बताए।
नेपाली काङ्ग्रेसबाट सिरहा क्षेत्र नम्बर १ का क्षेत्र सभापति समेत रहेका चौधरीले मुस्लिम समुदायको महान पर्व रमजान (ईद) पर्वको शुभकामना दिदै आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठवन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सम्पुर्ण पार्टीका कार्यकर्ता र नगरबासीहरुलाई अनुरोध गरेका हुन् ।
शनिबार एक कार्यक्रमको आयोजना गरि अनौपचारिक रुपमा पत्रकार समक्ष चौधरीले भने, ‘जनताले अमुल्य मत दिएर निर्वाचित गराएको खण्डमा जनताद्वारा नै समस्याको पहिचान गरि समुदायमा काम गर्ने मरो प्रतिबद्धता छ।’
कृषि , शिक्षा ,स्वास्थ्य , यातायात पूर्वाधार, योजनाबद्ध सहरी विकास, सुरक्षित आवास, रोजगार आर्थिक वृद्धि, लगायतका विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने सङ्कल्प सहित उनले प्रतिबद्धता गरे।
समाजामा व्याप्त कुरीति र अन्धविश्वासको अन्त्य गर्न शिक्षा, चेतना र सशक्तीकरण अभियान चलाइने र पालिकामा व्याप्त गरिबी, अभाव र अल्पविकासको समस्यालाई सम्बोधन गर्न विशेष पहल गर्ने प्रतिबद्धता गरे ।
गुणस्तरिय र सुलभ शिक्षा ,आधारभुत स्वास्थ्य , पुर्वाधारहरु निर्माण , लक्षित समुदायका लागि शीप र सशक्तिकरण तालिम , स्वरोजगार नागरिक र आत्मनिर्भर नगर कार्यक्रम , खानेपानी आयोजना, पर्यटन र पूर्वाधार विकास , स्थानीय उत्पादनको बजारीकरण लगायतलाई आफुले चुनावी घोषणा ( पत्रमा प्राथमिकता राखेको सुनाए ।