वीरगञ्ज, १६ बैशाख। २७ वर्षीय युवा, जो गाउँपालिकाको बागडोर सम्हाल्ने दौडमा छन् । विद्यार्थी जीवनबाटै राजनीतिक यात्रा आरम्भ गरेका पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ इटियाही निवासी मधुुसुदन चौरसिया चुनावमा होमिएका छन् ।

२०७१ सालमा शरद सिँह भण्डारीको नेतृत्वमा गठित राष्ट्रिय मधेश समाजवादी पार्टीको विद्यार्थी संगठनबाट सदस्य रुपमा चौरसियाले राजनीति थालेका हुन्।

333

सदस्यमा रुपमा चौरसियाले देखाएको सक्रियताकै कारण उनी १ वर्षपछि नै समाजवादी विद्यार्थी संघको जिल्ला अध्यक्ष भए ।

ठाकुरराम बहुमुखी क्याम्पसको स्वभियु निर्वाचनमा लड्ने तयारी गरीरहेका चौरसिया स्वभियु निर्वाचन नभएपछि लड्न पाएनन् । विद्यार्थी राजनीतिकै क्रममा उनी विभिन्न संघ संस्थामा आवद्ध भएर सामाजिक क्रियाकलापमा पनि सक्रिय रहे । छोटो समयमै आफुलाई सबल र सक्षम विद्यार्थी नेताको रुपमा स्थापित भएका चौरसियालाई कोरोना भाइरसको महामारी गाउँपालिकाबासीलाई सेवा गर्ने अवसर बन्यो।

चौरसियाले आफ्नै व्यक्तिगत खर्चबाट गाउँपालिकामा उल्लेख्य बिकास निर्माणका कामहरु गर्नुका साथै गाउँपालिकाका अनियमितता तथा ढिलासुस्तीको बारेमा निरन्तर रुपमा खबरदारी पनि गर्दै आए।

वैश्विक महामारी कोरोना भाइरसको समयमा भएको लामो समयसम्मको बन्दाबन्दीका कारण असहज परिस्थितीको सामना गरीरहेका गरिब, विपन्न, दलित एवम् नियमित ज्याला मजदुरी गर्ने परिवारलाई खाद्यान्न सामाग्री सहयोग गर्न गाउँगाउँ पुगेका चौरसियालाई गाउँबासीले पालिकाको राजनीति गर्न सुझाव दिए।

राहत वितरणदेखि आफैले गाउँपालिकाका विभिन्न सार्वजनिक स्थानहरुमा स्यानिटाइज गरेर निःशूल्क रुपमा मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरे। सर्वसाधारण नागरिकदेखि लिएर महामारीमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीहरुलाई पनि विभिन्न किसिमका स्वास्थ्य सामाग्री चौरसियाले वितरण गरे ।

आफ्नै व्यक्तिगत खर्चमा गाउँमा नाला निर्माण गर्नेदेखि सडक ग्रेभेल गर्ने, खाल्डाखुल्डी पुर्ने, बत्ति नभएका विद्युतिय पोलहरुमा बत्ति जडान गर्ने लगायतका कामहरु चौरसियाले गरेका छन् । यिनै कामका क्रममा गाउँबासीले चौरसियालाई गाउँपालिकाको अध्यक्षका लागि तयारी गर्न सुझाव दिए।

लामो समयदेखि राजनीति गरीरहेका नेताहरुकै हाली मुहाली भएको बेला र जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, नेकपा माओवादी लगायतका दलहरुको जनलहर भएको बेला २७ वर्षीय विद्यार्थी नेताले कसरी पालिका सम्हाल्न सक्ला र भन्ने प्रश्नले चौरसियालाई हप्तौसम्म सोच्न बाध्य बनायो।

सोही प्रश्नको जवाफ खोज्न उनी गाउँपालिकाले गरेका कामको अवलोकन गर्न गाउँ घुम्न थाले । ५ वटा वडा मात्रै रहेको गाउँपालिकामा ५ वर्षसम्म कुनै परिवर्तन नदेखेपछि आफै परिवर्तनको शुरुवात गर्ने सोचले पालिकामै अधिकांश समय चौरसियाले बिताउन थाले।

नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलको नेतृत्वमा शुरु भएको नेपाल सुशासन अभियानमा चौरसिया जोडिए । २०७८ माघ १५ गते अभियानमा जोडिएका चौरसिया अभियान पार्टीमा परिणत भएसँगै फागुन २५ गते भएको कार्यक्रमका बिच नेपाल सुशासन पार्टी पर्सा जिल्लाको अध्यक्षमा चयन भए।

२७ वर्षीय युवा पार्टीको जिल्ला अध्यक्ष पनि हुन्छ भन्ने प्रश्नको जवाफ उनले त्यतिबेला पाए । त्यसपछि अब गाउँपालिका अध्यक्षमा पनि निर्वाचित हुन्छु भन्ने संकल्पका साथ चौरसिया चुनावी मैदानमा होमिएका छन्।

सुशासन पार्टीको जिल्ला अध्यक्ष भएसँगै उनले पार्टीका गतिविधिलाई पनि तिव्रता दिए। भर्खरै स्थापित भएको पार्टीलाई जनताको माझमा स्थापित गर्नु उनका लागि चुनौति थियो । तर पनि छोटो समयमै चौरसियाले वर्षाैदेखि बर्चस्व जमाएका दल एवम् व्यक्तिहरुलाई टक्कर दिने गरी संगठनलाई सशक्त बनाए।

निर्वाचनलाई लक्षित गर्दै चौरसियाले गरेको घरदैलोमा पनि बाक्लो उपस्थिती देखिएको हुँदा गाउँपालिकाबासीले पनि अब परिवर्तन गर्ने जिम्मेवारी युवालाई सुम्पिने संकेत देखिएको छ।

madhusudan chaurasiya (2) bindwasini (1)