वीरगञ्ज, ११ बैशाख । सत्ता गठबन्धनको चुनावी तालमेल र गत वर्षको चुनावी अंक गणितलाई आधार मान्ने हो भने वीरगञ्ज महानगरपालिकामा पुनः जसपाको बर्चस्व हुने संकेत देखिएको छ ।

वि.स. २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि बिजयी हाँसिल गरेको तत्कालिन संघिय समाजवादी फोरम हालको जसपाले यसपाली पनि जित्ने सम्भावना देखिएको हो । पार्टी एउटै भएपनि यसपटक व्यक्ति भने फरक छन् । यसअघि पनि मधेश प्रदेशको एक मात्र महानगरपालिकाको मेयरका उम्मेदवार राजेशमान सिँह र यसअघि मेयरमा निर्वाचित भएका बिजय कुमार सरावगीको प्रतिस्पर्धाले वीरगञ्ज महानगर गर्माएको छ ।

सत्ता गठबन्धनले नै वीरगञ्ज महानगरपालिकाको मेयरमा जसपाको भागमा परेपछि गत निर्वाचनको अंकगणितका आधारमा सिँहको सम्भावना बढेको हो । यसअघि राष्ट्रिय जनता पार्टीबाट अन्तिम अवस्थामा टिकट पाएर पनि १२ हजार १ सय ६५ मत प्राप्त गरेका सिँहलाई यसपाली जसपा, नेपाली कांग्रेस, नेकपा माओवादी र एकिकृत समाजवादी पार्टीको मत पनि थपिने भएको छ । सिँहले प्राप्त गरेको १२ हजार १ सय ६५ भोट पूर्ण रुपमा व्यक्तिगत भोट भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

निर्वाचनताका पर्सा जिल्लामा राजपाको अवस्थालाई हेर्ने हो भने उक्त विश्लेषणलाई सत्य मान्न सकिन्छ । वडामा संगठनसमेत बिस्तार नभएको कमजोर अवस्थामा त्यति मत प्राप्त गर्ने कसैले पनि आश नगरेको समयमा सिँहले १२ हजार १ सय ६५ मत प्राप्त गरेर आफ्नो पकड राम्रो भएको प्रमाणित गरेका थिए । त्यसयता सिँहले कोरोना भाइरसको महामारी तथा पहिलो र दोस्रो चरणको निषेधाज्ञाको समयमा गरेको कामका कारण उनको व्यक्तिगत भोट फेरी उल्लेख्य मात्रामा बढ्नेमा कुनै दुई मत छैन ।

कोरोना कालमा दैनिक हजारौ व्यक्तिलाई निःशूल्क रुपमा भोजन वितरण, गरिब, विपन्न तथा नियमित ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने मजदुर तथा श्रमिकहरुलाई खाद्यान्न सामाग्री सहयोगदेखि मोतिबिन्दु भएका सयौँ जनाको निःशूल्क रुपमा शल्यक्रिया गरेर सामाजिक क्षेत्रमा पनि सक्रिय हुनु नै सिँहको जनाधार बढेको आधार हुन् । पद तथा पहुँचमा भएका व्यक्तिहरु प्नि गौन रहेको बेला पद तथा पहुँचमा नभएका नेता सिँहले व्यक्तिगत रुपमा आफ्नै स्रोत र आफ्नै पहुँचका आधारमा गरेका समाजसेवाको जनताले मूल्यांक गर्ने जसपाकै नेताहरुको विश्वास छ ।

यसअघि संघिय समाजवादी फोरम हालको जसपाबाट सरावगीले पाएको १९ हजार ३ सय ९३ मतमध्ये सरावगीको व्यक्तिगत भोट लगभग ५ हजार नै मानेपनि पार्टीगत भोट भारी पर्ने सहजै अनुमान लगाउन सकिन्छ । जसपासँगै यसअघि वीरगञ्ज महानगरको मेयरमा दोस्रो स्थानमा रहेका अजय द्विवेदीले प्राप्त गरेको १७ हजार १ सय ९७ मत पनि सिँहलाई नै पर्नेमा कुनै आशंका छैन ।

सत्ता गठबन्धनको निर्णयबमोजिम नेकपा माओवादी केन्द्रबाट यसअघि ८ हजार ३ सय ५ मत प्राप्त गरेका रहबर अन्सारीको भोट सिँहकै भोटमा थपिने निश्चित छ । नेकपा एमालेबाट बसरुद्धिन अन्सारीले पाएको ८ हजार ६ सय ८८ भोट भने बाँडिने देखिन्छ । जिल्लामा राम्रो पकड भएका बौद्धिक नेताहरु नेकपा एमाले बिभाजित भएर बनेको नेकपा एकिकृत समाजवादीमा गएसँगै एमालेको भोट दुई ठाउँमा जाने देखिएको हो ।

सरावगीको कार्यकाल जनताले देखिसकेको हुँदा अब पुनः सरावगीलाई नै अवसर दिने पक्षमा नगरबासी नभएको नागरिक समाजका अगुवा प्राध्यापक डा. दीपक शाक्य बताउँछन् । सरावगीको कार्यकालदेखि एकाधबाहेक अधिकांश नगरबासी असन्तुष्ट हुनुले पनि पुनः सरावगी दोहोरिँदैनन् भन्ने कुरालाई थप पुष्ठि गर्छ । सरकारी सेवा सुविधा पनि केही लिँदैन भनेर करोडौको गाडी चढ्नु र निर्वाचनताका गरेका प्रतिबद्धता एवम् खाएका कसमहरु बिर्सिएर जनतामा करको बोझ लादेका कारण पनि नयाँ व्यक्तिलाई अवसर दिनुपर्ने नगरबासीको धारणा छ । सरावगीले बढाएको करकै कारण यसअघि उनलाई समर्थन गरेका मारवाडी समुदाय पनि उनको विपक्षीमा उभिएका छन् ।


अहिलेसम्मको राजनीतिक परिवेशलाई नियाल्ने हो भने वीरगञ्जमा लोकतान्त्रिक गठबन्धन पक्षकै पल्ला भारी देखिन्छ । सरावगीको आगमनपश्चात लामो समयदेखि एमालेमै रहेर काम गरेका व्यक्तिहरुलाई पाखा लगाएर अरुलाई टिकट वितरण भएको भन्दै एमालेकै नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरीरहेका छन् । यसले एमालेमा नवप्रवेशीहरु हाबी भएको पुष्ठि गर्छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मा एमालेबाट वडाअध्यक्षको तयारी गरीरहेका महमदु अन्सारीले पार्टी परित्याग गरेका छन् । वडा इकाई कमिटीका अध्यक्षसमेत रहेका अन्सारीले पार्टीभित्र इमान्दारीताका साथ पार्टीको लागि र जनताको लागि काम गरेका व्यक्तिलाई पाखा लगाएर नवप्रवेशी र पैसाँवाला व्यक्तिलाई काखा च्यापेको भन्दै पार्टी परित्याग गरेको बताए ।

यस्तै वडा नम्बर ९ मा पनि पार्टीको कार्यालय स्थापना गरेर वडाअध्यक्षको तयारी गरीरहेका वडा इकाई कमिटीका अध्यक्ष शतिष सिँह राजपुत पनि पार्टीसँग रुष्ठ छन् । नेकपा एमालेभित्र चुँलिदै गएको तिक्तताले पनि जसपाबाट मेयरका उम्मेदवार सिँहको जित लगभग सुनिश्चित छ भन्दा फरक नपर्ला । वीरगञ्जको राजनीतिमा राजनीतिकर्मीभन्दा राजनीतिक व्यवसायी हाबी भएपछि वीरगञ्जबासीले समृद्धि वीरगञ्ज निर्माणका लागि स्वच्छ राजनीतिकर्मीलाई नै जिताउनुपर्ने विश्लेषकहरु बताउँछन् ।

उता एमालेबाट मेयरका उम्मेदवार सरावगी भने यसअघि प्राप्त गरेको सबै भोट आफ्नै व्यक्तिगत भोट भएको दावी गर्छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग तालमेल गरेको एमालेले लोसपा र एमाले मिलेरै ५ दलीय गठबन्धलाई परास्त गर्ने एमालेका वीरगञ्ज महानगर समितिका सचिव सुन्दर कुर्मीको जिकिर छ । पार्टीभित्रको असहयोगका कारण पनि आफुले महानगर क्षेत्रमा धेरै बिकासका काम गरेको हुँदा जनताले पनि पुनः जिताउनेमा सरावगी पनि विश्वस्त देखिन्छन् ।