काठमाडौं, ११ वैशाख। स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेदवारहरुको मनोनयन दर्ता प्रक्रिया आजबाट शुरु हुनेभएको छ। निर्वाचन आयोगले ११ र १२ वैशाख (आज र भोलि) का लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको हो।
आज बिहान १० बजेदेखि भोलि अपरान्ह ५ बजेसम्म सवै स्थानीयतहहरुमै स्थापना गरिएकानिर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारहरुले आफ्नो नाम मनोनयन गर्न पाउनेछन्।
निर्वाचन आयोगले शनिबार गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मनोनयन दर्ताको मिति शुरु भएसँगै निर्वाचनको तयारी एक चरणबाट टुंगिएर अर्को चरणमा प्रवेश गरेको बताए। ‘निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन तयारीको सबै ९काम० सम्पन्न गरेको छ’ उनले भने, ‘अब उम्मेद्वारी, मतदान, मतगणना र नतिजा प्रकाशनको कामतर्फ उन्मुख हुँदैछ।’
उम्मेद्वारी दर्ताका क्रममा आचारसंहिताको पालनामा आयोगले राजनीतिक दलहरुलाई आग्रह गरेको छ। मनोनयन दर्ताका क्रममा झडप र अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनलाई अनुरोध गरिएको थपलियाले बताए । उनले भने, ‘मनोनयन दर्ताका क्रममा निस्कने जुलुसले असहज र झडपको स्थिति आउनु हुँदैन । त्यसका लागि स्थानीय प्रशासनले शान्ति सुरक्षाका लागि गर्नुपर्ने काम गर्नेछ।’
देशभरका ७ सय ५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्र रुपमा समेत मनोनयनपत्र दर्ता हुनेछ। ७ सय ५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका छन्। यी सबै तहमा प्रमुख तथा मेयर र उपप्रमुख तथा उपमेयर पदका लागि मनोनयन हुनेछ।