वीरगञ्ज, ८ बैशाख । सत्ता गठबन्धनले स्थानीय तहको भागबण्डा मिलाएसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग तालमेल गर्ने भएको छ। वीरगञ्ज महानगरपालिकामा यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र लोसपा मिलेर चुनाव लड्ने बिहिवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो।

srijana

लोसपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झा र नेकपा एमाले पर्साका अध्यक्ष जयप्रकाश थारुले सयुँक्त प्रेस विज्ञप्ती जारी गर्दै चुनावी तालमेलका बारे जानकारी गराएका हुन्। नेकपा एमालेले मेयर र लोसपाले उपमेयरमा उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा उत्रिने नेकपा एमाले पर्साका अध्यक्ष थारुले बताए।

नेकपा एमालेले वर्तमान मेयर बिजय कुमार सरावगीलाई नै उम्मेदवार बनाउने भएको छ भने लोसपाले उपमेयरको टुंगो लगाएको छैन। छिटै पार्टीभित्र छलफल गरेर उपमेयरको उम्मेदवार पनि टुंगो लगाउने लोसपा पर्साका अध्यक्ष झाले बताए। उनका अनुसार उपमेयरमा झा आफै वा नेतृ रम्भा मिश्रा मध्ये एकजनालाई बनाइने सम्भावना छ।278102246_1071247807081842_5904883143990559740_n

आवश्यक्ताअनुसार स्थानीय तहमा पनि तालमेल गर्न सकिने केन्द्रिय समितिको निर्णयबमोजिम वीरगञ्ज महानगरपालिकामा चुनावी तालमेल भएको लोसपाका नेता तथा प्रतिनीधि सभा सदस्य लक्ष्मणलाल कर्णले बताए।

५ दलीय गठबन्धनलाई परास्त गर्नका लागि लोसपा र एमालेबिचको तालमेलले सकारात्मक सन्देश दिएको नेकपा एमालेका सचिव रघुबिर महासेठको बुझाई छ। एमालेले नै मधेशका केही माग सम्बोधन गरेको र बाँकी माग पनि एमाले नै सत्तामा गएपछि सम्बोधन हुने विश्वासका साथ तालमेल गरिएको लोसपाका नेता लक्ष्मणलाल कर्णको भनाई छ।

यता लोसपा वीरगञ्ज महानगर अध्यक्ष ओमप्रकाश सर्राफ भने चुनावी तालमेलदेखि असन्तुष्ट छन्। वीरगञ्ज महानगरपालिकामा चुनावी तालमेल भनेपनि वीरगञ्ज महानगर समितिसँग कुनै समन्वय नभएको सर्राफ बताउँछन्। सर्राफले प्रेस विज्ञप्ती जारी गर्दै यस्तो गम्भिर विषयमा नगर समिति र नगर अध्यक्षसँग छलफल तथा परामर्श नै नगरेको भन्दै आपत्ति जनाएका छन्।

‘वीरगञ्जमा विकल्प दिन हाम्रो पार्टी सशक्त रुपले तयार रहेको अवस्थामा समर्पण हुने गरी गरिएको गठबन्धन स्थानीय कार्यकर्ता र जनताको खिलाफ छ।’ पार्टीगत नभएर केही सिमित व्यक्तिहरुले गरेको निर्णयका कारण वडाका कार्यकर्ता र प्रस्तावित वडाका उम्मेदवारहरु अन्यौल तथा बिचल्लीमा परेको सबैलाई संयमित हुन पनि अध्यक्ष सर्राफले विज्ञप्तीमार्फत आग्रह गरेका छन्।

losapa birodh gathbandhan