फोटो ः श्रेष्ठको फेसबुकबाट।
सिरहा, ७ वैशाख । नेकपा एमालेले गोलबजार नगरपालिकाकालागि मेयर पदका उम्मेदवार श्याम श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । पार्टीको आज बसेको बैठकले श्रेष्ठलाई सर्वसम्मत मेयर पदको उम्मेदवार चयन गरेको हो।
आजकै वैठकले उप–मेयर पदका ३ जना उम्मेदवारको नामा सिफारिस गरेको पार्टी नगर अध्यक्ष राजकिशोर महतोले जानकारी दिए।
एप–मेयर पदका लागि आशा लामा, मानती साह र मञ्जुदेवी साहको नाम सिफारिस भएको नगर अध्यक्ष महतोले बताए।
मेयर पदका लागि श्रेष्ठ सहित फूलेश्वर नायक र सम्झना थपलियाले पनि उम्मेद्वार दावी गर्दै आएका थिए । अन्ततः श्रेष्ठको नाम सर्वसम्मत भएको महतोले जनाए ।
श्रेष्ठले २०७४ को स्थानीय तहको निर्वाचनमा पनि मेयर पदका लागि उम्मेदवारी दिएका थिए । त्यसवेला उनी वर्तमान मेयर देवनाथ साहसँग १ हजार ३ सय ५४ मतान्तरले पराजित भएका थिए । श्रेष्ठले ५ हजार ८९ मत र साहले ६ हजार ४ सय ४३ मत प्राप्त गरेका थिए ।
गोलबजार नगरपालिका ७ चोहर्वाका श्रेष्ठ पार्टीका जिल्ला उपसचिव समेत हुन् ।