वीरगञ्ज, ७ बैशाख । सत्ता गठबन्धनले गरेको निर्णय संशोधनको माँग गर्दै नेपाली कांग्रेस पर्साको टोली काठमाडौं पुगेको छ । वीरगञ्ज महानगर पालिकामा जनता समाजवादी पार्टी (जसपा) ले मेयर र कांग्रेसले उपमेयर पाउने सत्ता गठबन्धनको निर्णयमा आपत्ति जनाउँदै पर्सेली कांग्रेसको टोली काठमाडांै पुगेको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर निर्णय संशोधनको माँग गर्ने उद्देश्यले पार्टीका केन्द्रिय सदस्य रमेश रिजाल, अजय चौरसिया, पूर्व मन्त्री सुरेन्द्र चौधरी, संविधान सभा सदस्य अनिल रुंगटा, जिल्ला सभापति जनार्दन सिँह क्षेत्री लगायतको टोली बुधवार काठमाडौं छ ।
अन्य ठाउँमा गठबन्धन गरेपनि पर्सा जिल्लामा नेपाली काँग्रेसले गठबन्धनको बैशाखी लिनु नपर्ने भन्दै पर्सेली कांग्रेसी नेताहरु सत्ता गठबन्धनको निर्णयप्रति असन्तुष्ट छन् ।
पर्सा जिल्लामा नेपाली कांग्रेस चुनाव लड्न र जित्न एक्लै सक्षम भएको हुँदा गठबन्धनको निर्णयमा असहमति भएको नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का सभापति अर्विन्द गुप्ता बताउँछन् ।
वीरगञ्ज महानगरपालिकामा कांग्रेस बलियो रहेको हुँदा मेयरमा अरुलाई आत्मसमर्पण गर्नुले नेपाली कांग्रेसलाई नै दीर्घकालिन क्षति पर्न सक्ने नेपाली कांग्रेस वीरगञ्ज महानगर समितिका सभापति मणिन्द्रलाल श्रेष्ठको बुझाई छ ।
यसअघि पत्रकार सम्मेलन गरेरै नेपाली कांग्रेस पर्साले गठबन्धन नगर्ने बताएको थियो । त्यस्तै नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) पर्साका केन्द्रिय सदस्यसहित जिल्ला अध्यक्षहरुले पनि गठबन्धन नगरेर मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेका थिए ।