सिरहा, ७ वैशाख । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मधेस प्रदेशका एक हजार ६३ मतदान केन्द्र अति संवेदनशीलको सूचीमा राखिएको छ ।
जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले मधेस प्रदेशमा एक हजार ६३ मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रको सूचीमा राखिएको मधेस प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार आठ सय ८८ संवेदनशील र दुई सय १२ केन्द्रलाई सामान्य मतदान केन्द्रको सूचीमा राखिएको छ ।
अति संवेदनशील सूचीमा राखिएको मतदान केन्द्रमध्ये सप्तरीमा २ सय ८, सिरहामा १ सय ७०, धनुषामा एक सय ८३, महोत्तरीमा १ सय १०, सर्लाहीमा १ सय ३, रौतहटमा ८३, बारामा ६२ र पर्सामा ६२ ओटा मतदानस्थल अति संवेदनशील मानिएका छन्।
सिरहामा ४६, सप्तरीमा ८५, धनुषामा १ सय १६, महोत्तरीमा १ सय ४५, सर्लाहीमा १ सय ८४, रौतहटमा १ सय १९, बारामा १ सय ८ र पर्सामा ८५ ओटा मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको छ।
सप्तरीमा चार, सिरहामा पाँच, धनुषामा २४, महोत्तरीमा तीन, सर्लाहीमा ३१, रौतहटमा ७४, बारामा ५१ र पर्सामा २० ओटा मतदानस्थल सामान्य सूचीमा रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
विगतको चुनावमा निर्वाचन बिथोलिएको र झडप समेत भएको मतदानस्थलहरूलाई सुरक्षा निकायले अति संवेदनशील सूचीमा राखेको मधेस प्रदेशका डीआइजी उमेश रञ्जितकारले जानकारी दिए ।
डीआइजी रञ्जितकारका अनुसार विगतमा भन्दा अहिले सुरक्षा चुनौती बढेको छ । उहाँले अहिले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, जनमत पार्टी र स–साना समूहका कारण सुरक्षा चुनौती रहेको बताए ।
डीआइजी रञ्जितकारले भने, ‘विप्लव नेतृत्वको नेकपाको गतिविधि र खुला सीमानाका कारण सुरक्षा चुनौती रहेकाले मधेसका धेरै मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको हो ।’
त्यस्तै सत्ता गठबन्धन र विपक्षी दलसँग हुन सक्ने अप्रत्याशित तथा सम्भावित झडपलाई समेत ‘सुरक्षा थ्रेट’को रूपमा विश्लेषण गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
डीआइजी रञ्जितकारले मधेस प्रदेशको सबै जिल्लामा खुला सिमानाका कारण र स–साना हातहतियारले सुरक्षा चुनौती रहेको बताए।
उनले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सीमा क्षेत्रहरुमा निर्वाचनको ७२ घण्टा अघिदेखि नै पूर्णरूपले आवतजावत बन्द रहने गरी सिमाना सील गर्ने बताए। उनले प्रदेशका सबै जिल्लाहरुमा प्रहरीले उच्च सतर्कताको साथ काम गरिरहेको बताए ।प्रदेशभर २ हजार १ सय ६३ मतदानस्थल कायम गरिएको छ भने ४ हजार १ सय ८९ मतदान केन्द्र निर्धारण गरिएको प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी श्रीधर पन्तले जानकारी दिए ।
सप्तरीमा २ सय ९७ मतदानस्थलमा ५ सय ३६ मतदान केन्द्र, सिरहामा २ सय २१ मतदानस्थलमा ४ सय ९८ मतदान केन्द्र, धनुषामा ३ सय २३ मतदानस्थलमा ५ सय ९३ मतदान केन्द्र र महोत्तरीमा २ सय ५८ मतदानस्थलमा ४ सय ९७ मतदान केन्द्र निर्धारण गरिएको छ ।
सर्लाहीमा ३ सय १८ मतदानस्थलमा ५ सय ९९ मतदान केन्द्र, रौतहटमा २ सय ७६ मतदानस्थलमा ५ सय १८ मतदान केन्द्र, बारामा ३ सय ३ मतदानस्थलमा ५ सय ४१ मतदान केन्द्र तथा पर्सामा १ सय ६७ मतदानस्थलमा ४ सय ४ मतदान केन्द्र निर्धारण गरिएको छ ।