वीरगञ्ज, २२ चैत । पर्साको दोस्रो सदरमुकामको रुपमा परिचित पोखरिया नगरपालिकाका नगरप्रमुख (मेयर) दिपनारायण रौनियार (मन्टु) न घरको न घाटको हुने संकेत देखिएको छ । तत्कालिन नेपाली जनता दलबाट मेयरमा निर्वाचित भएका रौनियार टिकट पाउने आशमा नेपाली काङ्ग्रेस प्रवेश गरेपनि उनको टिकट अनिश्चित बनेको छ ।siraha pawlik
नेपाली काँग्रेसबाट पुनः टिकट पाउने आशमा पार्टी सभापति शेरबहादुर देउवाको हातबाट माला लगाउँदै पार्टी प्रवेश गरेपनि उनले टिकट नपाउने सम्भावना बढेको छ । बैँशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसकै पूराना नेताहरुले अडान नछोडेपछि रौनियारले टिकट नपाउने छाँटकाँट देखिएको हो ।
निर्वाचित भएको अवधिसम्म रौनियारले पद र शक्तिको सही रुपमा उपयोग गरेको भए पुनः उनी नै दोहोरिनेमा कुनै आशंका थिएन । तर, नगरबासीले पनि उनलाई नै मन र मत दिएर जिताउँथे होला । तर नगरवासीले उनको कामप्रति असन्तुष्टी पोख्दै आएका छन् । नगरपालिका अस्तव्यस्त, अव्यवस्थित एवम् आफ्ना आसेपासेलाई भर्ना गरेर एकलौटी रुपमा सञ्चालन गरीरहेको नगरपालिकाकै जनप्रतिनीधिहरु बताउँछन् ।
यसअघि नेपाली काङ्ग्रेसबाट नगरप्रमुखका उम्मेदवार रामेश्वर प्रसाद रौनियार आफुले नै पुनः टिकट पाउनेमा विश्वस्त छन् । यसअघि उनले १६ सय ६३ मत प्राप्त गरेका थिए । दिपनारायण रौनियार, रामेश्वर प्रसाद रौनियारसँगै नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ३ का सभापति श्रीकृष्ण चौहानले पनि आफुलाई मेयरको दावेदारका रुपमा प्रस्तुत गरेपछि दिपनारायण रौनियारले टिकट पाउने सम्भावना कम भएको हो ।
‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भने जस्तै भएको छ यतिबेला वर्तमान दिपनारायण रौनियारलाई । नगरपालिकामा आएको सम्पूर्ण बजेटको सही सदुपयोग गरेर बिकास निर्माणलाई तिव्रता दिएको भए सायद उनी स्वतन्त्र उम्मेदवार भएर चुनावमा होमिएपनि उनलाई कसैले हराउन सक्दैन्थ्यो भन्ने सहजै आँकलन गर्न सकिन्छ । तर पोखरिया अस्पतालमा प्रदेश सरकारबाट आएको ४ करोड रकम पनि फ्रिज भएको, पोखरियामा घण्टाघर, टावर लाईट जडान गर्ने आश्वासन बाँडेर काम नगरेका, विद्यालयहरुमा शिक्षक नियुक्ती नगरेको, स्मार्ट सिटीको बजेट पनि कार्यन्वयन नगर्दा मेयर रौनियार असक्षम साबित भएको पोखरियाका स्थानीयको भनाई छ ।
नेकपा एमालेबाट प्रधुमन प्रसाद चौहान निर्विकल्प उम्मेदवार हुन् । यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उनले तत्कालिन संघिय समाजबादी फोरमबाट उम्मेदवारी दिएका थिए । २७ सय ६७ मत ल्याएर दोस्रो स्थानमा रहेका चौहान यो पटक पहिलो स्थानमा हुने दाउमा छन् ।
चौहानसँगै पोखरियाका मेयरका आकाङ्क्षीहरुलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार नेजामोद्दिन समानी चुनौती बनेका छन् । तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट उम्मेदवारी दिएका समानीले ९ सय ८० मत ल्याएका थिए । पराजित भएर पनि निरन्तर जनताकै माझमा रहेर नगरपालिकामा हुने गलत कामको खबरदारी र विकास निर्माणका काममा पटकपटक ध्यानाकर्षण गराएका समानी यो पटक बलियो उम्मेदवार मानिन्छन् । मध्यम वर्गीय परिवारका समानीले जनताको नजिक र हरेकको समस्यासँग परिचित भएकाले नगरपालिकाको बिकासका लागि आफु नै नेतृत्वमा पुग्नुपर्ने बताएका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा २५ सय २ मत पाएर दोस्रो स्थानमा रहेका शंकर राउत अहिर यो पटक पूर्व डिआईजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दिने तयारीमा छन् ।
यसअघि स्वतन्त्र उम्मेदवारी दिएका अहिरले यसपटक नेपाल सुशासन पार्टीबाट बाजी मार्ने सोच बनाएका छन् ।