वीरगञ्ज, २३ चैत । जनताको विकासकालागि काम गर्ने कसम खाएर जनताकै मतबाट निर्वाचित भएका ४ जना वडाअध्यक्ष गलत गतिविधि गरेको अभियोगमा निलम्बित भएका छन् । भ्रष्टाचार अभियोगमा मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगर पालिकाका ४ जना वडाअध्यक्ष निलम्बनमा परेका हुन् ।
भ्रष्टाचारजन्य काममा संलग्न तथा गलत सिफारिस गरेका कारण वीरगञ्ज महानगर पालिका वडा नम्बर २ का वडाअध्यक्ष अब्बास मियाँ, वडा नम्बर १४ का वडाअध्यक्ष भरतप्रसाद कुर्मी, वडा नम्बर १५ का वडाअध्यक्ष गजेन्द्र प्रसाद कुर्मी र वडा नम्बर १६ का वडाअध्यक्ष श्यामबाबु चौरसिया निलम्वनमा परेको अख्तियार दुरुपयोग अनुसन्धानआयोगले जनाएको छ ।
आयोगका अनुसार नागरिकताको गलत सिफारिस गरेको भन्दै वडा नम्बर २ का वडाअध्यक्ष अब्बास मियाँ विरुद्ध मुद्दा दायर भएपछि उनी निलम्बित भएका हुन् ।
मियाँ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट मियाँ वडाध्यक्षमा निर्वाचित भएका थिए ।
वडा नम्बर १४ का वडाअध्यक्ष भरत प्रसाद कुर्मी पनि विशेष अदालत काठमाडौंमा भ्रष्टाचार सम्बन्धी मुद्दा परेपछि निलम्बितमा परेका छन् । घरबाटो, जन्म दर्ता, विवाह दर्ता लगायत अन्य सिफारिस बापतको राजस्व हिनामिना गरेको प्रमाणित भएपछि अख्तियारले अध्यक्ष कुर्मी, वडा सचिव राजकुमार सिंह, तत्कालीन वडा सचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अन्सारी र सञ्जयकुमार पटेल तथा कार्यालय सहयोगी जितेन्द्रकुमार कुर्मीविरुद्ध मुद्दा दायर गरेको छ । वडाध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी अहिले निलम्बनमा परेका हुन् ।
तत्कालीन संघीय समाजवादी फोरम हालको जनता समाजवादी पार्टीबाट कुर्मी वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
वडा नम्बर १५ काअध्यक्ष गजेन्द्र प्रसाद कुर्मी पनि नागरिकता सिफारिस सम्बन्धी मुद्दामा मुछिएपछि निलम्बनमा परेका हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भएका कुर्मीविरुद्ध विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका हुन् ।
त्यस्तै गलत सिफारिस गरेकै आधारमा वडा नम्बर १६ का वडाअध्यक्ष श्यामबाबु चौरसिया पनि निलम्बित छन् । घरबाटोको सिफारिस गर्दा २८ फिट भएकोमा १५ फिटको बाटो लेखेर सिफारिस गरेको पाइएपछि चौरसियाविरुद्ध मुद्दा दायर भएको हो । चौरसिया तत्कालिन संघीय समाजवादी फोरमबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
इता वीरगञ्ज महानगर पालिका वडा नम्बर १३ का वडाअध्यक्ष तुफानफारुक अन्सारी विरुद्ध पनि जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेपनि राजनीतिक दबावकाकारण उनको फाइल अगाडी बढ्न नसकेको स्रोतले जनाएको छ ।
ग्लत व्यक्तिलाई मतदिएर बिजयी बनाउँदाको परिणाम अहिले वडा सदस्यले कार्यवाहक वडाअध्यक्षको जिम्मेवारी सम्हाल्नुपर्ने बिडम्बना छ । अब स्थानीय तहकालागि केही समय मात्रै बाँकी रहँदा पुनः कस्ता जनप्रतिनीधि आउने हुन् भन्ने प्रश्न उब्जिएको छ । तसर्थ मतदाताले गम्भिर भएर क्षणिक स्वार्थ भन्दापनि दीर्घकालिन लक्ष्य र दुरदर्शी व्यक्तिलाई मतदिनुपर्ने चुनौती खडा भएको छ ।