काठमाडौं, २३ चैत । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले जारी गरेको विज्ञप्ती अनुसार पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले बढेको छ । यो मूल्य गएराति १२ बजेदेखि लागू भएको छ ।
यो सँगै अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँ, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय ४३ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास प्रतिसिलिन्डर १६ सय रुपैयाँ पुगेको छ ।
खाना पकाउने ग्यासको मूल्य यसअघि १५ सय ७५ रुपैयाँ रहेको थियो । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य भने क्रमशः १ सय ५५, १ सय ३८ रुपैयाँ थियो ।
आयल निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी गरेको छ ।