वीरगञ्ज, २२ चैत । नेकपा एमालेले मात्रै देशलाई समृद्ध बनाउने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेका छन् । नेकपा एमाले पर्साले मंगलवार वीरगञ्जमा आयोजना गरेको बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई समृद्ध बनाउनका लागि भएपनि एमालेको सरकार बन्नुपर्ने आवश्यक्ता औँल्याए ।
उनले भने, ‘एमालेको सरकार बनेपछि मात्रै देश समृद्ध बन्न सक्छ । देश समृद्ध हुनका लागि मधेश, पहाड, हिमाल तराई सबै विकास हुन जरुरी छ ।’
केही स्वार्थी व्यक्तिहरुले आफुलाई मधेशविरोधी भन्ने हल्ला चलाएको बताउँदै ओलीले भने, ‘म ६० वर्षदेखि मधेशमा बसेर भैँसीको पिँठियुमा चढेर भैँसी कसरी चराउने, चापाकल कसरी गाड्ने, इनार कसरी खन्ने ? सबै सिकेको व्यक्ति हुँ ।’
वीरगञ्जलाई रिंगरोडसहितको नमुना र विकसित शहरको रुपमा विकास गर्नुपर्नेमा ओलीले जोड दिएका छन् । उनले भने, ‘दुर्गम ठाउँमा पनि हेली प्याड हुनुपर्छ, चौडा र सुविधायुक्त बाटोहरु निर्माण गर्नुपर्छ । अनि बल्ल विकास हुन सक्छ । यो विकास एमाले बाहेक कसैले गर्न सक्दैन ।’ विगतमा ढल्केबरदेखि जनकपुरसम्म साढे २ घण्टा लगाएर जाँदा गाडीसमेत बिग्रिएको स्मरण गर्दै ओलीले भने, ‘त्यतिबेला साढे २ घण्टा लाग्ने बाटो मेरै पालामा निर्माण गरेर अहिले आधा घण्टामै ढल्केबरदेखि जनकपुर जान सकिन्छ ।’
जलस्रोतको धनी देशका बासिन्दा भएकाले यहाँ आफुले बाल्नेदेखि अस्पताल, उद्योगधन्दा लगायतमा पनि प्रयोग गरेर बाहिर निर्यात गर्नुपर्ने काम पनि एमालेले नै गर्ने ओलीको दावी छ । विद्युतिकरणमार्फत देशलाई आधुनिकीकरण गरेर डिजिटल नेपाल बनाउने काम पनि एमालेले नै गर्ने हुँदा आउँदो निर्वाचनमा पुनः एमालेलाई भारी मतका साथ बिजयी बनाउन ओलीले आग्रह गरेका छन् । राष्ट्र निर्माणको अभियानमा सामेल हुन र कुनै पनि पार्टीहरुमा नअलमलिएर एमालेमा आउन अध्यक्ष ओलीले आग्रह गरेका हुन् ।
परम्परागत र निर्वाहमुखी कृषिलाई आधुनिकीकरण, प्रविधिकरण र निर्यातमुखी बनाउनुपर्ने ओलीको भनाई छ । आत्मनिर्भर अर्थतन्त्रतर्फ जाने र निर्यातमुखी अर्थतन्त्रको विकास गर्ने मुख्य लक्ष्यका साथ एमालेले काम गरीरहेको ओलीले बताए ।
गरीब र लक्षित समुहलाई खाजाको व्यवस्था गरेर पढाउने र आम नागरिकलाई निःशूल्क स्वास्थ्योपचारको व्यवस्थाका लागि विशेष बिमाको व्यवस्था गर्ने प्रतिबद्धता पनि ओलीले व्यक्त गरेका छन् । ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भत्ताबापतको रकमको श्रेय अरुले लिन खोजेपनि नेकपा एमालले नै त्यसको सुरुवात गरेको जिकिर गरे । उनले थपे, ‘नेकपा एमालेले केटाकेटीलाई हेर्छ, बुढाबुढीलाई हेर्छ, एकल महिलालाई हेर्छ । त्यसैले सबैको साझा पार्टी नै एमाले हो ।’