सिरहा, २१ चैत । समयमा काम गरेको पैसा नपाएपछि पूर्वपश्चिम लोकमार्ग अन्तर्गत कमला–कंचनपुर सडक निर्माण कार्यमा सरसामान ढुवानी गरिरहेका टिपर चालकहरु आन्दोलित भएका छन्। 

आन्दोलित भएका चालकहरुले सोमबार बिहानदेखि सिरहाको लहानमा रहेका निर्माण कम्पनी चिन रेल्बे नम्बर २ इन्जिनियरिङ्ग ग्रुप लिमिटेडको कार्यालयमा करिब तीन घण्टा तालाबन्दी पनि गरेका छन्। सात बुँदे माग राखी उनीहरु नाराबाजी गरेको थियो। 

मेरो बैँकको किस्ता कसले तिर्छ?, घरको भान्सा कसले चलाउँछ?, पसिना मार्न पाइदैन?, आफ्नो जिम्मेवारी पूरा गरौँ?, घरमा बच्चा भोकै छ, नो मनी, नो वर्क, आठ महिनाको बाँकी रकम भुक्तानी गरौँसहित नारा लेखेको ब्यानर बोकी उनीहरु नाराबाजी गरेको थियो।

१५० मिलियन युएसएडको लागतमा चिन रेल्बे कम्पनीले कमलादेखि कंचनपुरसम्म करिब ८८ किलोमिटर सडक निर्माण गरिरहेको छ। बजार एरियामा छ लेन र बाहिर चार लेनको सडक निर्माण हुँदैछ। उक्त निर्माण कार्यका लागि विभिन्न कन्ट्राक्टरबाट ढुवानीका लागि निर्माण कम्पनीले टिपरलगायत सवारी साधन लिएका छन्।

काम गरेको अनुसार भुक्तानी माग गरेको चिन रेल्बे कम्पनीका चिफ ज्यागं जिनले बताए। ‘टिपरलगायतको भुक्तानी आफूले माग गरेको छौँ,’उनले भने,‘भुक्तानी आएपछि सबैको खातामा पठाउछौँ।’सरकारी निकायबाट समयमै भुक्तानी नआएपछि यस्तो समस्या आएको उनले सुनाए।    अन्नपूर्णपोटबाट ।