वीरगञ्ज, २० चैत । पर्साको बिन्दवासिनी गाउँपालिका यतिबेला सुशासनमय बनेको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेपाल सुशासन पार्टीले ‘हर हर मकै, घर घर मकै’ अभियान शुभारम्भ गरेको छ । अबको स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने र गाउँपालिकालाई सुशासनयुक्त र समृद्ध बनाउने लक्ष्यस्वरुप नेपाल सुशासन पार्टीले आफ्ना गतिविधिलाई तिव्रता दिएको हो ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दलहरुको दवदवाका बिचमा अब नयाँ जोश र नयाँ एजेण्डासहितको पार्टीलाई अवसर दिनुपर्ने बिन्दवासिनी गाउँपालिकाबासी बताउँछन् । कोरोना भाइरसको महामारीदेखि लिएर हरेक समयमा युवा नेता मधुसुदन चौरसिया नै जनताको घर घरमा पुगेको हुँदा चौरसियालाई नै भोट दिने बिन्दवासिनी गाउँपालिका सानो इटिहाईका जितेन्द्र चौरसिया बताउँछन् ।
निःस्वार्थ रुपमा जनताको सेवा गर्ने र आफ्नो जन्मभूमिको विकास गर्ने एकमात्र उद्देश्यले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने नेपाल सुशासन पार्टी पर्साका अध्यक्ष मधुसुदन चौरसियाको भनाई छ । शिक्षा, स्वास्थ्यदेखि विभिन्न अनुदान एवम् सामाग्री खरिदमासमेत व्यापक कमिशन र भ्रष्टाचार मौलाउँदै गएको भन्दै चौरसियाले भ्रष्टाचाररहित र सुशासनयुक्त सेवा सुविधा प्रवाह गर्ने आफ्नो मुख्य ध्येय रहेको बताए ।
पर्साको बिन्दवासिनी गाउँपालिकाको सानो झौवा, भेलाहा, अमरपट्टी, मधवल लगायतका स्थानमा सुशासन पार्टीले जनतासँगको भेटघाटलाई निरन्तरता दिइरहेको छ । सो अवसरमा विभिन्न व्यक्तिहरुले विभिन्न पार्टी परित्याग गरी नेपाल सुशासन पार्टीमा प्रवेश गरीरहेका छन् ।