वीरगञ्ज, १७ चैत । नेपाली काँगे्रसबाट निर्वाचित पर्साको बहुदरमाई नगरपालिकाकी उपप्रमुख गायत्री देवीका श्रीमान नेकपा एमालेमा प्रवेश गरेका छन् । साबिक बिश्रामपुर गाविस अध्यक्षसमेत रहेका राजदेव यादव नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
बहुदरमाई नगरपालिका वडा नम्बर २ पिपरामा नेकपा एमाले बहुदरमाई नगर समितिले आयोजना गरेको वडास्तरीय भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पूर्व संविधान सभा सदस्य राजकुमार गुप्ताले टिका लगाई यादवलाई पार्टीमा स्वागत गरेका हुन् । यादवको एमाले प्रवेशसँगै अब उनकी श्रीमती एवम् नगरपालिकाकी उपप्रमुख देवी पनि एमालेमै जान सक्ने संकेत देखिएको छ ।
वडा भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै गुप्ताले नेकपा एमालेको बढ्दो जनलहरले एमालेबाहेक अरु कसैले पनि समृद्ध ल्याउन नसक्ने दावी गरे ।
नेकपा एमाले बहुदरमाई नगर कमिटीका अध्यक्ष प्रमोद कुशवाहाको अध्यक्षतामा भएको भेलाले चन्द्रशेखर प्रसाद रावको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटि समेत गठन गरेको छ ।