वीरगञ्ज, १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजसंस्था आफ्नो पार्टीको एजेण्डा नभएको स्पष्ट पारेका छन् । विगतमा राजसंस्थाको वकालत गरेर गल्ती गरेको स्विकार गर्दै अध्यक्ष थापाले हिन्दु राष्ट्र, सुशासन र समृद्धी नै पार्टीका मुल एजेण्डा भएको बताए ।
राप्रपा नेपाल जिल्ला कार्य समिति पर्साले सोमवार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजसंस्थाको माग गर्दा हिन्दु राष्ट्रको पक्षमा रहेकाहरुले पनि साथ नदिएको बताए । आगामी स्थानीय तहको निर्वाचनमा धेरै महत्वकांक्षा नरहेको प्रस्ट्याउँदै थापाले राष्ट्रिय राजनीतिमा पाइला टेक्ने बलियो आधार निर्माण गर्नेमा केन्द्रित भएको बताए ।
धर्मको आधारमा राजनीति गरेको आरोप लगाउनेले धर्मको अर्थ नबुझेको भन्दै थापाले खण्डन गरेका छन् । पश्चिमा मुलुक र केही राजनीतिक दलको दवावमा संविधानमा धर्म निरपेक्ष लेखिएको थापाको आरोप छ । धर्म निरपेक्षको महारोगले हिमाली र पहाडी क्षेत्रमा ठूलो डढेलो लागेको उनले बताए । थापा भन्छन्, ‘हामीले हिन्दु धर्मको मात्रै संरक्षण गर्न भनेका हैनौ । सबै धर्मलाई सम्मान गर्दै सनातन धर्मको संरक्षण र संवद्र्धन गर्नुपर्छ ।’
लोकतन्त्रको आवरणमा ओढेर धेरै नेताहरु रातारात करोडपति तथा अर्बपति बनेको आरोप लगाउँदै थापाले देशमा वैदेशिक हस्तक्षेप बढीरहेको बताए । बिचारभन्दा पनि स्वार्थको राजनीति गर्नेहरुले देशलाई धरापमा पारेको थापाको भनाई छ । मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) पारित गरेर छिमेकी मित्र राष्ट्रहरुसँगको सम्बन्ध चिसिएको हुँदा सम्बन्ध सुधार र आपसी सहकार्यका लागि सरकारले कुनै तदारुकता नदेखाएको थापाको भनाई छ ।
यस्तै अवस्था रहीरहे देशमा धार्मिक द्वन्द भड्किने र धार्मिक एवम् सामाजिक सद्भाव खलबलिने पनि उनले संकेत गरेका छन् । हिन्दु राष्ट्रको एजेण्डालाई कहिलै पनि नछोडेको र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेलले आफ्ना भनाई र मुद्धालाई वेवास्ता गरेपछि बाध्य भएर राप्रपा नेपाललाई पुर्न जागृत गर्नुपरेको थापाको भनाई छ ।