वीरगञ्ज, १३ चैत । पर्साको सखुवाप्रसौनी गाउँपालिका कार्यालयमा ८ राजनीतिक दलले तालाबन्दी गरेका छन् । गाउँपालिकाको सम्पुर्ण आय व्यय सार्वजनिक गर्नुपर्ने मागसहित नेकपा एमाले, नेपाली काङग्रेस, नेकपा माओवादी, नेपाल सुशासन पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमोर्चा, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले गाउँपालिकामा तालाबन्दी गरेका हुन् ।
एक महिना अगाडीदेखि गाउँपालिकाको सम्पूर्ण खर्च तथा आम्दानीको विवरण सार्वजनिक गर्नुपर्ने माग गरेपनि उपलब्ध गराउन आनाकानी गरेको र उपलब्ध नगराएको भन्दै तालाबन्दी गरिएको नेकपा एमालेका नेता यशवन्त यादवले जानकारी दिए । गाउँपालिका अध्यक्ष प्रदिप कुमार जैसवालले पारदर्शीता नगरेको र गाउँपालिकामा व्यापक भ्रष्टाचार गरेको आगामी निर्वाचनमा गाउँपालिका अध्यक्ष पदका उम्मेदवारसमेत रहेका यादवको आरोप छ । गाउँपालिकामा विकास निर्माण नगरेको कमिशत र भ्रष्टाचारमा लिप्त रहेर आफन्त तथा कार्यकर्तालाई भर्ति गर्ने केन्द्र बनाएको आरोप यादवले लगाएका छन् ।
सखुवाप्रसौनी गाउँपालिका संघर्ष समितिका अध्यक्ष शंकर महतो थारुको अध्यक्षतामा गाउँपालिकाको श्रीपुर, पँचगावा लगायतका क्षेत्रमा परिक्रमा गर्दै गाउँपालिका अध्यक्षको विरुद्धमा नाराबाजी गरिएको थियो । प्रदर्शनका क्रममा ‘गाउँपालिकाको हरेक आय व्यय सार्वजनिक गर, चुनावको मुखमा कर्मचारी भर्ना बन्द गर, भ्रष्ट गाउँपालिका अध्यक्ष मुर्दावाद’ लगायतका नारा लगाएका थिए ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले २ बजेसम्म आय व्यय उपलब्ध गराउने बताएपनि आलटाल गरेर टार्न खोजेपछि सवा ४ बजे सर्वदलिय निर्णयअनुसार तालाबन्दी गरिएको नेपाल सुशासन पार्टीका गाउँपालिका संयोजक प्रदिप चौधरीले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष चौरसियाले औराहा पँचगावा क्षेत्रमा खरिद गरेको ३ बिगाहा जग्गाबाट ९ कट्ठा जग्गा गाउँपालिका कार्यालय निर्माणका लागि दिने उद्घोष गरेका थिए । सडकभन्दा ५ सय मिटर पछाडी रहेको जग्गा गाउँपालिका भवनका लागि दिएर अगाडीको जग्गाको भाउ बढाउने दाउमा अध्यक्ष चौरसिया रहेको नेपाली काङ्ग्रेसका गाउँपालिका सभापति जयराम महतो थारीको आरोप छ । राजनीतिक दल एवम् जनचाहनाबमोजिम बजार क्षेत्रमै गाउँपालिका भवन निर्माण गर्नुपर्ने नेकपा एमालेका गाउँपालिका संयोजक बासुदेव महतो थारुले बताए ।
नगर परिक्रमा पछि आयोजित कोणसभालाई नेकपा माओवादीका गाउँपालिका अध्यक्ष लालबिहारी राम, राप्रपाका गाउँपालिका संयोजक चन्द्रिका सहनी, जनमत पार्टीका जयभोले यादव, जनमोर्चाका तपशी चौधरी लगायतले सम्बोधन गरेका थिए ।