वीरगञ्ज, १३ चैत । नागरिकता विहिन संघर्ष समितिले नागरिक्ताको माग सहित वीरगञ्जमा प्रदर्शन गरेका छन् । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनुपर्ने र आमाको नाममा नागरिकता दिनुपर्ने मागसहित संघर्ष समितिले शान्तिपूर्ण प्रनर्शन गरेका हुन् ।
नागरिकता विहिन रोहित गुप्ता र अशोक सर्राफको संयोजकत्वमा भएको प्रदर्शन वीरगञ्जको घण्टाघरबाट माईस्थान, आदर्शनगर, ग्रिनसिटी घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएका थियो ।
समितिले बुबाको जन्मसिद्ध र आमाको बंशजका आधारमा नागरिकता भएर पनि अनागरिक हुँदा आफ्नो नाममा सिम कार्डसमेत प्रयोग गर्न नपाएको गुप्ताको भनाई छ । उच्च शिक्षा अध्ययनका लागि बिदेश जाने सोच भएपनि नागरिकता नहुँदा जान नसकेर वीरगञ्जकै ठाकुरराम बहुमुखी क्याम्पसमा बिबिए पढ्न बाध्य भएको गुप्ताले बताए । उनले भने, ‘मसँगै लाखौँ युवाहरुको भविष्यसङ्ग सरकारले खेलवाड गरीरहेको छ । राजनीतिक सौदाबाजीमा जेलिएको नागरिकता विद्येयक पास गरेर हामीलाई पहिचान दिनमा किन ढिलाई ?’
नाागरिकता नभएकै कारण योग्यता अनुसारको रोजगारका लागि बन्चित हुनुपरेको गुप्ताको गुनासो छ । बैंक खातासमेत खोल्न नपाएको नागरिक विहिन युवा अशोक सर्राफले बताए ।
छिटोभन्दा छिटो नागरिकता सम्बन्धी विद्येयक पार लगाएर लाखौं अनागरिकलाई पहिचान दिलाउनुपर्ने सर्राफको माग छ । माग सम्बोधनका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउन जाँदा पनि प्रशासनमा दुव्र्यवहार गरेको उनीहरुको आरोप छ ।
पार्टीको झण्डा बोकेका व्यक्तिहरुसँग भेटेर ज्ञापन पत्र बुझ्नेले अनागरिकहरुको ज्ञापन पत्र पनि नबुझेको उनीहरुले दुखेसो गरे । आगामी दिनमा वीरगञ्जमात्रै नभएर देशव्यापी रुपमा एकीकृत भएर आन्दोलन गर्ने तयारी रहेको नागरिक विहिन युवा विवेक वर्णवालले बताए ।