सिरहा, १३ चैत । मुख्यमन्त्री लालबाबु राउतले सदियौ देखि सासक वर्गबाट उत्पीडनमा पारीएका बर्ग तथा समुदायलाई राज्यको मुलधारमा ल्याउन मधेश सरकार प्रयासरत रहेको बताए । सिरहाको गोलबजार १३ दुर्गापुरमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले पछाडी पारिएका बर्ग समूदायलाई शिक्षा र रोजगारीको माध्यमबाट राज्यको मुलधारमा ल्याउने जनाएका हुन् ।
मुख्यमन्त्री राउतले मधेस सरकारले योजनाबद्ध रुपमा पछाडी पारिएका समुदायलाई मूलधारमा ल्याउने प्रयास थालेको जिकिर गरे । उनले त्यसैको एउटा कडि ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम रहेको सुनाए । उनले महिलाहरुलाई रोजगारीमा पहुँच वृद्धिगर्ने उदेश्यले मधेश सरकारले ५० प्रतिशत आरक्षणको ब्यबस्था समेत गरेको उल्लेख गरे ।
मुख्यमन्त्री राउतले महिलाका अतिरिक्त राज्यले सधैं उपेक्षा गर्दैआएका दलित, मुस्लिम, आदिबासी, जनजाति लगायतको समुदायका लागि जनसंख्याको अनुपातमा आरक्षणको ब्यबस्था गर्दै राज्यको मुलधारमा सशक्त उपस्थिती गराउने प्रयत्न गरि रहेको दावी गरे ।
मधेश सरकारले शुरु गरेको अभियान को प्रभाब १०÷१५ बर्ष पछि देखिने बताउँदै उनले मधेश आन्दोलनको क्रममा मधेशी जनताले देखेका सपनाहरु मधेश सरकारले क्रमशः पूरा गर्दै गएको जिकिर गरे ।
वडा अध्यक्ष लक्ष्मी नारायण महतोको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जसपा केन्द्रिय कार्यकारिणी सदस्य प्रकाश अधिकारी, केन्द्रिय सदस्य एवं नेपाल सरकारका पुर्ब मन्त्री सत्रुधन प्रसाद सिंह, प्रदेश सभा सदस्य सुनिता राम, केन्द्रिय सदस्य रोहित महतो, जिल्ला अध्यक्ष अशोक यादव सहितका नेताहरूले सम्बोधन गरेका थिए ।
कार्यकर्ता भेलामा वडाका जेष्ठ नागरिक हरुलाई मुख्यमन्त्री राउतले माला र दोसल्ला ओढाएरे सम्मान गरेका थिए ।