सिरहा, १३ चैत । जिल्ला प्रशासन कार्यालय सिराहामा टोकन प्रणाली मेसिन जडान गरिएको छ । भिडभाड नियन्त्रण र सेवा प्रवाहमा सहजता ल्याउने उदेश्य सहित टोकन मेसिन जडान गरिएको हो ।
मेसिन जडान पछि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, समुदाय प्रमाणिलगायतको सेवा प्रवाह गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले विश्वास व्यक्त गरे ।
उनले अव जनताले पाउने सेवा व्यवस्थित र सहज बनाउन टोकन प्रणाली सहयोग पुर्याउने बताए । दैनिक चार सय सेवाग्राहीलाई टोकन प्रणालीबाट सेवा प्रवाह गर्ने र अनावश्यक झन्झटको अन्त्य हुने अपेक्षा गरिएको कवारीले बताए ।
टोकन प्रणालीअनुसार आफ्नो पालोमा सेवाग्राहीले सेवा पाउनुका साथै कार्यकक्षको झ्यालअगाडि अनावश्यक भिड कम हुने उनले बताए । टोकन प्रणालीमार्फत सेवा सञ्चालन गर्न धनगढीमाई नगरपालिकाले टोकन मेसिन सहयोग गरेको हो । धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरीले आजै एक कार्यक्रमबीच टोकन मेसिन हस्तान्तरण गरेका थिए ।