सिरहा, ११ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले एकै दिन सिरहाका भित्री सडकको शिलान्यास गरिएको छ । चोहर्वा–सिरहा–माडर चार लेन र मिर्चैया–कल्याणपुर–सिरहा दुई लेन सडकको शिलान्यास भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता, प्रतिनिधीसभा सदस्य तथा पूर्वमन्त्री राजकिशोर यादव र प्रदेशसभा सदस्य सुरेश मण्डलले संयुक्त रुपमा गरेका हुन् ।
दुबै सडकका लागि पहिलो चरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ४०/४० करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ ।
२२ मिटर चौडाइ रहने चोहर्वा–सिरहा–माडर चार लेन सडकखण्डमा विनियोजन गरेको रकमबाट पहिलो चरणमा २ हजार ५ सय ५० मिटरको काम हुनेछ । यो सकडमा गाउँ क्षेत्रमा १४ मिटर र शहरी क्षेत्रमा १८ मिटर कालोपत्रे गर्ने योजना रहेको बताइन्छ ।
यस्तै, मिर्चैया–कल्याणपुर–सिरहा सडकखण्डमा पहिलो चरणमा ८ हजार ५ सय ८० मिटरको काम हुनेछ । दुई लेनको यो सडकको चौडाइ भने ११ मिटर रहनेछ । सडक निर्माणको समयावधि २ वर्षको रहेको छ । सिरहा सदरमुकाम जोड्ने चोहर्वा–सिरहा–माडर सडक र यस क्षेत्रको लाइफलाइन मानिने मिर्चैया–कल्याणपुर–सिरहा सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले आर्थिक विकास र समृद्धिको प्रमुख आधार सडक नै रहको बताइन् । सिरहाको यो दुबै सडक निर्माण भए यहाँको विकासले गति लिने विश्वास उनले व्यक्त गरिन् । मन्त्री यादवले सडक निर्माणको कार्य समयमै सम्पन्न हुने प्रतिवद्धतासमेत जनाइन् ।
यस्तै, सांसद यादवले लामो प्रयासपछि यत्रो ठूलो लगानीको सडक आयोजना सिरहामा ल्याउन सकिएको बताउँदै यसको निर्माणको काम सम्पन्न भइसकेपछि यहाँका जनजीवन सहज हुने र जीवनस्तरमा परिवर्तन ल्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे । उनले सडक निर्माणको कार्यमा सबै क्षेत्रलाई सकारात्मक सहयोगका लागि आग्रहसमेत गरे ।
कार्यक्रममा मन्त्री यादव र सांसद यादवसहित, नेता रामरिझन यादव, प्रदेश सांसद सुरेश कुमार मण्डल, लगायतको उपस्थिति रहेको थियो ।