वीरगञ्ज, ११ चैत । नेपाल सुशासन पार्टीका केन्द्रिय अध्यक्ष रमेश खरेलले सुशासन र समृद्धीलाई सार्थकतामा परिणत गर्ने बेला आएको बताएका छन् । पर्साको जिराभवानी गाउँपालिका ३ मा पार्टी जिल्ला कार्य समिति पर्साले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खरेलले नेपाल सुशासन पार्टीले नै परिवर्तन गर्ने दावी गरे ।
नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआईजी) समेत रहेका खरेलले भ्रष्टाचारको अन्त्य गरेर सुशासन स्थापनाका लागि हातेमालो गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।
पार्टीका केन्द्रिय उपाध्यक्ष राजकुमार यादवले देशको मुहार परिवर्तनका लागि सुशासन पार्टीको उदय भएको बताए । उनले भने, ‘अबको एक मात्र विकल्प सुशासन पार्टी हो, जनताको पार्टी भएर काम गर्नेछौँ, एक पटक अवसर दिनुहोस् ।’
कम्युनिष्ट, काँग्रेससहित मधेशवादी दलहरुले पनि अवसर पाएर केही गर्न नसकेको पार्टीका जिल्ला अध्यक्ष मधुसुदन चौरसियाले आरोप लगाए । सबै दलले आफ्नै गोजी भर्न र कार्यकर्ता पाल्नबाहेकका काम नगरेको जिल्ला अध्यक्ष चौरसियाको आरोप छ ।
हरेक स्थानीय तह भ्रष्टाचारमा चुर्लुम्म डुबेर जनताको करबाट उठेको रकममा रजाई गर्नेहरुलाई तह लगाउन भएपनि अबको निर्वाचनमा सुशासन पार्टीलाई साथ दिन चौरसियाँले अनुरोध गरे । उनले भने, ‘सडक, नालासँगै शिक्षा, स्वास्थ्य जस्ता संवेदनशिल विषयमा पनि कमीशन लिने जनतामारा प्रशासन र जनप्रतिनिधीलाई तह लगाउनै पर्छ, पैँसा र शक्तिकोमा नभुलऔं ।’
सो अवसरमा नेपाली काङ्ग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेर एक सय भन्दा धेरैले नेपाल सुशासन पार्टीमा प्रवेश गरेको पार्टीका जिल्ला सदस्य सद्धाम हुसैनले जानकारी दिए ।
सोही क्रममा पार्टीको तर्फबाट पर्साको पोखरिया नगरपालिकाको मेयरका उम्मेदवार शंकर यादव, पटेर्वासुगौली गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार लालबाबु राम, पकाहमैनपुर गाउँपालिकाको अध्यक्षका उम्मेदवार प्रभु पटेल, नेता राजकुमार साह लगायतले आमसभालाई सम्बोधन गरेका थिए ।