वीरगञ्ज, ९ चैत । वीरगञ्ज उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीका समस्याका बारेमा गृहमन्त्री बालकृष्ण खाणको ध्यानाकर्षण गराएका छन् । संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ता नेतृत्वको प्रतिनीधिमण्डलले गृहमन्त्री खाणकै कार्यकक्षमा भेटेर उद्योगी व्यवसायीका समस्याको बारेमा सचेत गराएका हुन् ।
औद्योगिक सुरक्षा बलको पुनः स्थापना हुनुपर्ने, सीमा सुरक्षा बैठकलाई निरन्तरता दिनुपर्ने, वीरगञ्जमा सञ्चालित सिसिटिभी परियोजना संचालनका लागि सरकारको तर्फबाट कोषको व्यवस्थापन गर्नुपर्ने, उक्त परियोजनामा दक्ष जनशक्तिको परिचालन गर्नुपर्ने माग अध्यक्ष डा. गुप्ताले गृहमन्त्री खाणसमक्ष राखेका थिए । त्यसैगरी एउटा निश्चित सीमाभित्र नगद रकम ओसारपसारमा कुनै किसिमको हस्तक्षेप नहुनपर्ने, डिजिटल सेक्युरिटी विङ्गको स्थापना गर्ने, स्थानीयस्तरमा रहेका अपराधीहरुलाई कारागार स्थानान्तरण गर्नुपर्ने, मालवाहक सवारीसाधनलाई चेकजाँच गर्ने निकाय हुँदाहुँदै प्रहरी प्रशासनबाट विभिन्न बहानामा दुःख दिने कार्यलाई बन्द गरिनुपर्ने लगायतका मागतर्फ पनि संघे सुझाव दिएको छ ।
संघबाट प्राप्त सुझावहरुलाई गम्भीरतापूर्वक लिएको बताउँदै गृहमन्त्री खाणले मुलुककै शान्ति सुरक्षाप्रति आपूm सम्वेदनशील रहेको बताए । राज्य उद्दारवादी अर्थतन्त्रमा प्रवेश गरेको हुँदा उद्योग व्यवसाय निर्वाध रुपमा सञ्चालन हुन सकेमा मात्र सरकारी राजस्व संकलन हुने र रोजगारी सिर्जना हुने गृहमन्त्री खाणको भनाई छ ।
उनका अनुसार अवैद्य व्यापारलाई निरुत्साहित गर्दै वैद्य व्यापारलाई प्रोत्साहन गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको छ । मोफसलका निजीक्षेत्र र प्रशासनबीच समन्वयात्मक भूमिका निर्वाह हुन सकेमा उद्योग व्यवसाय सञ्चालनका क्रममा आउने समस्या न्यूनीकरण हुने उनको विश्वास छ ।
भेटघाटको क्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष, अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, कार्यकारिणी समिति सदस्य सुनिलकुमार खेतान, सुमन क्याल, नरेश टिबडेवाल, अंकित खेतान, राजेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो ।