वीरगञ्ज, ८ चैत । द्विपक्षीय व्यापार, विस्तार, आपसी समन्वय र सहकार्यका वीरगञ्ज उद्योग वाणिज्य संघ र ललितपुर उद्योग वाणिज्य संघबिच भएको भगिनी सम्बन्ध पुनः नविकरण गरिएको छ । ललितपुर उद्योग वाणिज्य संघका पदाधिकारी एवम् कार्यकारिणी सदस्यहरुसँगको अन्तरक्रिया कार्यक्रमका अवसरमा २०७२ सालमा भएको भगिनी सम्बन्धलाई स्मृति पत्रमा हस्ताक्षर गरी पुनः नविकरण गरिएको हो ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ताले नितीगत समस्याका कारण व्यवसायीहरु मारमा परेको उल्लेख गर्दै उद्योग एवम् व्यवसायी विरोधी नियमहरु सच्च्याउनका लागि दबाब सृजना गर्नुपर्नेमा जोड दिए ।
डा. गुप्ताले तराई काठमाण्डौ दु्रतमार्ग र निजगढ अन्र्तराष्ट्रिय विभानस्थलको शीर्घ निर्माणका लागि पहल गरिदिन पनि आग्रह गरेका छन् । राष्ट्रिय आयोजनाको निर्माणले वीरगञ्ज र काठमाण्डौको दुरी अँझै छोटिने र यसले व्यापार व्यवसायमा अँझै सहज हुने अध्यक्ष डा. गुप्ताको विश्वास छ ।
वीरगञ्जलाई आर्थिक राजधानी औपचारिक रुपमै घोषणा गर्नुपर्ने र बारा पर्सा औद्योगिक क्षेत्रलाई औद्योगिक कोरिडोर घोषणा गर्नका लागि प्रयासरत रहेको बताउँदै अध्यक्ष डा. गुप्ताले ललितपुर संघलाई पनि पहल गर्न अनुरोध गरे ।
वीरगञ्ज ऐतिहासिक क्षेत्रका साथै आर्थिक, सांस्कृतिक एवम् पर्यटटकका प्रचुर सम्भावना भएको शहर सरकारको उपेक्षामा पर्दै गईरहेकोमा उनले आपत्ति जनाए ।
ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मनोज बहादुर न्याछौंले ललितपुरको सांस्कृतिक र ऐतिहासिक महत्वको बारेमा प्रकाश पार्दै पर्यटन व्यवसायलाई अँझै बढावा दिन सकिने बताए । ललितपुर क्षेत्रको ललितकलासहित पौराणिक एवम् पूरातात्विकका साथै ऐतिहासिक एवम् धार्मिक हिसावले महत्वपूर्ण मानिने क्षेत्रमा आन्तरिक एवम् सिमावर्ती क्षेत्रका पर्यटकलाई पनि भित्र्याउन सकिनेमा उनले जोड दिए । वीरगञ्ज र ललितपुरको पर्यटनसँगै अन्य व्यवसायमा सहकार्य गर्नुपर्नेमा दुवै संघ सहमत भएका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको तर्फबाट अध्यक्ष डा. गुप्ता र ललितपुर उद्योग वाणिज्य सङ्घको तर्फबाट अध्यक्ष न्याछौंले हस्ताक्षर गरी स्मृति पत्र आदानप्रदान गरेका थिए ।
अध्यक्ष डा. गुप्ता नेतृत्वको प्रतिनीधि मण्डलमा संघका वरिष्ठ उपाध्यक्ष, अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सह–कोषाध्यक्ष, कार्य समिति सदस्य सुनिलकुमार खेतान, सुमन क्याल, नरेश टिबडेवाल, अंकित खेतान लगायत रहेका छन् ।