होलीमा प्रयोग गरिने रंगले स्वास्थ्यमा पार्न सक्ने प्रभाव र सावधानीका उपाय

    • चैत्र ३, २०७८
    • ४७७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    फाल्गुण शुक्ल पूर्णिमाको दिन नेपाल तथा भारतका हिन्दु धर्मावलम्बीहरुले मनाउने प्रमुख चाडको रुपमा होली परिचित छ । रङ्गहरुको चाडको रुपमा मनाइने होलीले बसन्त ऋतु आगमनको सङ्केत पनि गर्दछ । यो पर्व रङ्गको उत्सव हो । यो दिनमा मानिसहरुले एकअर्कामाथि विभिन्न प्रकारका रङ्गहरु लगाउने गर्दछन् । यो वर्ष चैत ३ गते आज पहाडी जिल्लाहरुमा र ४ गते भोली तराईमा होली मनाईदै छ । होली पर्वमा लगाइने विभिन्न रङ्गहरुले छालामा विभिन्न असरहरु समेत देखिने प्रबल सम्भावना हुन्छ । नारायणी अस्पतालका छाला तथा चर्मरोग विशेषज्ञ डा. रोहित गुप्तासँग गरिएको कुराकानी ः

    होली खेल्दा प्रयोग गरिने रङ्गहरुले छालामा कुनै असर गर्छ ?
    होली पर्व एउटा प्राचिन पर्व हो । एकअर्कासँग शुभकामना साटासाट गर्ने, भातृत्व कायम गर्ने पर्वलाई मर्यादित रुपमा मनाउन आवश्यक हुन्छ । अँझ अहिलेको परिवेशमा त झनै सतर्कता अपनाउनुपर्ने हुन्छ । होलीमा प्रयोग गर्नका लागी बजारमा पेस्ट, पाउडर र गिला गरी ३ प्रकारका रंगहरु पाइन्छन् ।
    पेस्ट रङ्ग ट्युबको रुपमा बजारमा पाइन्छ । जसको प्रयोग अन्यको तुलनामा अत्यन्तै कम हुने गरेको छ । यस्तो किसिमको रङ्गमा धेरै मात्रामा केमिकलको मिसावट हुने भएकाले छालामा नकरात्मक असर पर्ने गरेको छ । यस्तै होलीमा सबैभन्दा धेरै प्रयोग हुने रङ्ग हो पाउडर रङ्ग अर्थात सुक्खा रङ्गको धुलो । हर्बल र केमिकल गरी २ किसिमको पाउडर रङ्गमध्ये हर्बल रङ्गको बारेमा थोरैलाई मात्रै जानकारी छ । यसर्थ प्रायले केमिकलयुक्त रङ्गको प्रयोग गर्दछन् । जुन छालाको लागि अत्यन्तै हानीकारक हुन्छ । केमिकलयुक्त रङ्गमा पाइने कलरेन्ट नामक विषाक्त तत्वले छालामा नकरात्मक असर पार्दछ । हरियो, निलो, रातो, गुलाबी, पहँेलो लगायतका रङ्गको प्रयोगले छालामा विभिन्न किसिमका रोगहरुको संक्रमण देखिन सक्ने जोखिम हुन्छ । त्यसकारण सकेसम्म प्राकृतिक रंग नै प्रयोग गर्न सके उत्तम हुन्छ ।

    केमिकलयुक्त रङ्गको प्रयोगले देखिन सक्ने स्वास्थ्य जोखिमहरुको बारेमा प्रकाश पारिदिनुहोस् न ?
    म पनि त्यही विषयवस्तुमा आउँदै थिए, खासमा बजारमा पाइने रङ्गहरुको बारेमा जानकारीबिना खरिद गर्ने र एकअर्कालाई लगाउने गर्दा छालामा मात्रै नभएर आँखामा पनि समस्याहरु आउन सक्छन् । कसैले बलजफ्ती रङ्ग लगाउने गर्दा मुख, नाकभित्र पनि रङ्ग पसेर गम्भिर किसिमका रोगहरु नलाग्लान भन्न सकिन्न ।
    यद्यपि बाहिरी रुपमा रङ्गको प्रयोगबाट छालामा सामान्यतया देखिने समस्या भनेको छाला चिलाउने, पोल्ने, दाद आउने, एलर्जी हुने जस्ता समस्याहरु हुन् भने आँखामा पर्यो भने आँखा दुख्ने, रातो हुने समस्या देखिन थाल्छ । रङमा प्रयोग गरिने आईसीडी नामको केमिकलले छाला रातो हुने, चिलाउने फुस्रो हुने या फोका उठ्ने समस्या पनि आउन सक्छ ।
    हेर्दा सामान्य लाग्ने रङ्गकै कारण गम्भिर किसिमका रोगहरु लाग्ने हुँदा अत्यन्तै संवेदनशिल तथा मर्यादित भएर रङ्गको प्रयोग गर्नुपर्छ । होलीमा प्रयोग गरिने रङले शरीरमा सङ्क्रमण र एलर्जीको सम्भावनाका साथै रङमा प्रयोग गरिएको रसायनका कारण अनुहार बिग्रने र कपाल झर्ने समस्या पनि आउन सक्छ ।
    यि त केही उदाहरण भए । यसका अलावा अरु पनि थुप्रै किसिमका समस्याहरु देखिन सक्छन् । रङको प्रयोगले कसैलाई बेहोस हुने र स्मरणशक्ति कम हुने जस्ता समस्या पनि आउने गरेको एक अध्ययनमा भेटाएको थिए ।


    अब समस्या भन्दा पनि समाधानको कुरा गरौ, कसरी यस्ता समस्याबाट जोगिन सकिन्छ ?
    पक्कै पनि । बजारमा रङ्गको किनमेल र अबिर लगाउने क्रम शुरु भइसकेको छ । सर्वप्रथम रङ्ग खरिद गर्दा केमिकल बिनाको हर्बल रङ्ग खरिद गर्नुपर्छ । यसका साथै होली खेल्न जानुभन्दा पहिले सम्पूर्ण शरीरमा राम्ररी लोशन वा मोइस्चराईजर लगाउनुपर्छ । यो काम होली खेल्नु भन्दा कम्तीमा एक घण्टा अगाडी गर्नुपर्छ । त्यसपछि होली खेल्नु दश मिनेट अगाडी लोशन वा मोइस्चराईजरको प्रयोग गरेर मात्र खेल्नु पर्दछ । कपालमा पनि रंगको प्रभाव देखिन सक्ने भएकाले तेल लगाउँदा हानिकारक रंंग भित्र छिर्न पाउँदैन ।
    केमिकल्सयुक्त रङ्गबाट बच्न छालामा क्रिम वा तेलको प्रयोग गर्न सकिन्छ । हात तथा खुट्टा लगायत शरीरको खुला भागमा तोरीको तेल लगाउनुका साथै अनुहारमा कोल्ड क्रिम वा नरिवलको तेल प्रयोग गर्नुपर्दछ । नरिवल वा तोरीको तेल शरीरमा लागेको रङ्ग निकाल्नका लागि पनि प्रयोग गर्न सकिन्छ । होली खेल्दा रङ्गबाट बच्नुका साथै घामको हानीकारक विकिरणबाट बच्न पनि जरुरी छ । घामबाट बच्नकै लागि धेरैले सनस्क्रिम त प्रयोग गर्छन् । तर त्यो पानीको साथमा बगेर जाने हुदाँ यसको उपयोग प्रभावकारी हुँदैन । त्यसैले, होलीमा रङ्ग खेल्दा वाटरप्रुफ सन्सक्रिमकै प्रयोग गर्नु पर्दछ । यस्ता सन्सक्रिम लामो समय टिक्छ नै । यसले छालालाई केमिकल्सयुक्त रङ्गको दुष्प्रभावबाट समेत बचाउँछ ।
    होलीमा रमाइलोका लागि चिच्चाउने, कराउने गर्दा शरीरमा ‘डिहाइड्रेसन’ गराउने हुँदा पानी खाइरहनुपर्छ । त्यस्तै एकैपटकमा रङ पखाल्ने भन्दै जबरजस्ती अनुहार घोट्ने, कडा साबुन प्रयोग गर्ने गर्नुहुँदैन । केमिकल्लयुक्त रङ्गको प्रयोगले ओठ सुख्खा मात्र नभएर कालो पनि हुन्छ । त्यसैले, होली खेल्नु केही मिनेट पहिले ओठमा लिप बाम लगाउन आवश्यक छ । यसका साथै रङ्ग खेल्नु अगाडी अनुहार तथा हातखुट्टामा तिलको तेल प्रयोग गर्न सकिन्छ । यसले छालालाई सुरक्षा प्रदान गर्दछ । र, छालामा रङ्ग बस्न दिदैन ।
    हजुर यो त भयो गर्नुपर्ने कुरा अब नगर्नुपर्ने कुरा चाँही के छ त ?
    होलीमा रङ्ग खेल्दा अनुहारमा लाग्ने रङ्ग पखाल्नका लागि छालामा साबुनको प्रयोग गर्नुहुँदैन । त्यस्तै, रङ्ग निकाल्न छाला बेस्सरी नरगड्ने । र, अरुलाई पनि रगड्न नदिने । त्यतिमात्र नभएर रङ्ग गएन भन्दैमा हतास तथा निराश कदापी नहुने र छालामा विभिन्न किसिमका सामग्री प्रयोग गर्नबाट पूर्णतया जोगिने । सकेसम्म रङ मुखभित्र नपार्ने, आँखा र नाकलाई पनि बचाउनुपर्छ, संवेदनशील अंगमा रङले नकारात्मक असर गर्ने हुँदा सजग र संयमित हुन आवश्यक छ ।
    त्यसैगरी लामो समयसम्म शरीरमा रङ नराख्ने, सफा पानीले मात्रै मुख धुने, पानी धेरै पिउने, पुरै शरीर छोपिने कपडा लगाउने, आँखामा चस्मा तथा सन गगल्स लगाउने, होली खेलेको एक हप्तासम्म फेसमा क्लिन्जिङ, फेसियल तथा स्क्रब नगर्ने । यति गर्न सकियो भने सुरक्षित हुन सकिन्छ ।
    व्यस्त समयका बाब्जुद हामीलाई दिनुभएको समय र महत्वपूर्ण संवादका लागी हार्दिक आभार ।
    यो होलीको समयमा समसामयिक विषयवस्तुको बारेमा आम नागरिकलाई सुसुचित गराउने माध्यम मलाई उपलब्ध गराउनु भएकोमा तपाई लगायत ‘द नेपाल टप’ परिवारप्रति पनि हार्दिक आभारसहित फागु पुर्णिमाको शुभकामना ।

    दक्षिणी चीनमा राजमार ...

      काठमाडौं, १९ बैशाख। दक्षिणी चीनको ग्वाङडोङ ...

    दलित विकास मञ्चको आय ...

    सिरहा, १९ बैशाख। सिरहाको मिर्चैयामा सञ्चालित पाँच दिवसी ...

    श्रमिक अधिकार कार्या ...

    काठमाडौं, १९ बैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल &lsquo ...

    राजनीतिक उद्यमीका सी ...

    सीके लाल अनौपचारिक छलफलको प्रमुख विष ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल