वीरगञ्ज, २ चैत । केही साता अगाडी मात्रै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर नेकपा एमाले प्रवेश गरेका राजेशमान सिंह अब जनता समाजवादी पार्टी (जसपा) प्रवेश गर्दै छन् । आफूसँग धोका भएको भन्दै एमाले पनि त्यागेर सिंहले जसपा रोजेका हुन् ।
सिंहले चैत ७ गते पोखरीया नगरपालिकामा आयोजना हुने कार्यक्रममा जसपा प्रवेश गर्ने बताइएको छ । संविधानसभा सदस्य राजकुमार गुप्ता समूहसँग वीरगञ्ज महानगर पालिकामा मेयरको टिकट पाउने आश्वाशनसहित सिंहले एमाले प्रवेश गरेका थिए । तर, एमाले पर्सा भित्रकै अर्को समूहले उनका प्रतिद्वन्द्वीसमेत रहेका वीरगञ्जका मेयर विजय सरावगीलाई पार्टी प्रवेश गराएपछि उनि अन्योलमा परेका थिए ।
सरावगीलाई पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको तर्फबाट वीरगञ्ज महानगरको मेयरको टिकट दिने आश्वासन दिएका छन् । सरावगीको प्रवेशसँगै सिंह र उनिमध्ये पार्टीबाट मेयरको टिकट कसले पाउँछ भन्ने विषयमा एमाले भित्र पनि मतान्तर बढ्दै गएको थियो ।
यद्यपी एमाले भित्र टिकट पाउने दौडमा निर्वाचित मेयरले प्राथमिकता पाउने देखिएपछि सिंह जसपामा जाने निस्कर्षमा पुगेका हुन् ।
गत स्थानीय तहको निर्वाचनमा पनि वीरगञ्जको मेयरका लागि सिंह र सरावगीले प्रतिस्पर्धा गरेका थिए । मत परिणाम सरावगीको पक्षमा आए पनि गत साढे ४ वर्षको अवधिमा सिंहले गरेको कामबाट सबै प्रभावित छन् ।
अर्कोतर्फ सिंहले पर्सामा प्रभावशाली नेता सङ्घीय सांसद् प्रदीप यादवको पनि साथ पाएका छन् । विजय सरावगी तत्कालनी सङ्घीय समाजवादी फोरममा रहेको बेला उनलाई वीरगञ्जको मेयर बनाउने पर्दा पछाडीको व्यक्ति प्रदीप यादवलाई मानिन्छ ।
व्यापारिक पृष्ठभूमिबाट सरावगीलाई राजनीतिमा ल्याएर मधेश प्रदेशकै एक मात्र महानगर वीरगञ्जको मेयर बनाउने यादवको सबैभन्दा ठूलो हात थियो । उनै यादवले अब आफ्नै पहलमा जितेका सरावगीलाई हराउनका लागि सिंहलाई साथ दिइरहेका छन् ।
स्थानीय तहको निर्वाचन घोषणा भएसँगै पछिल्लो एक महिनाभित्र पर्साको राजनीतिमा ठूलो उथलपुथलहरु भएका छन् । कुनै समयमा एक अर्काका प्रतिस्पर्धी मानिने प्रदीप यादव र राजेशमान सिंह आज एकै ठाउँमा उभिएका छन् भने उनै यादवले राजनीतिमा ल्याएका व्यक्ति विजय सरावगी आज उनको सबैभन्दा ठूलो आलोचक बनेका छन् ।
निर्वाचन आउन अहिले पनि दुई महिना बाँकी रहँदा अरु कस्ता परिवर्तन होला भन्ने कुरा समयले नै बताउनेछ ।