वीरगञ्ज, १ चैत । अध्यक्ष र उपाध्यक्षको जुँगाको लडाईका कारण बाराको बारागढी गाउँपालिकाको कामकाज प्रभावित भएको छ । नेपाली काँग्रेसबाट निर्वाचित भएका अध्यक्ष देवदत्त बछार र तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित उपाध्यक्ष लक्ष्मी देवी रायको विवादका कारण गाउँपालिकाको कामकाज प्रभावित भएको हो ।
३ वर्षदेखि प्रमुख प्रशासकिय अधिकृतको कार्यभार सम्हाल्दै आएका आमोद चौधरीको सरुवा भएर उनको ठाउँमा आएका वकिल पाललाई हाजिरी गर्न नदिँदा समस्या सृजना भएको हो । अध्यक्ष बछारले पाललाई हाजिरी गर्न नदिएर आमोद चौधरीलाई नै ल्याउनुपर्ने अडान राखेका छन्, भने उपाध्यक्ष रायले पाललाई हाजिरी गर्न दिनुपर्ने अडान लिएपछि विवाद उत्पन्न भएको हो ।
अध्यक्ष बछारकै निर्देशनमा काँग्रेसका कार्यकर्ताहरुले आमोद चौधरी नै चाहिने भन्दै विरोध प्रदर्शनसमेत गरेका थिए । माघ १० गते चौधरीको ठाउँमा सरुवा भएर आएका वकिल पाललाई हाजिरी गराउनुपर्ने भन्दै उपाध्यक्ष पक्षको समूहले विरोध प्रदर्शन गरेको थियो ।
अध्यक्ष र उपाध्यक्ष बिचकै विवादका कारण कुनै पनि प्रशासकिय अधिकृत कार्यालयमा हाजिर हुन नसक्दा पालिकाका सूचना अधिकृत महेश ठाकुरलाई निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिइएको छ । तर आर्थिक कारोवारसहित अन्य काम भने ठप्प छ । अध्यक्ष र उपाध्यक्ष बिचको जुहारीका कारण पालिकाभित्रका विद्यालय शिक्षकहरुको तलब, उपभोक्ता समितिको भुक्तानी, सामाजिक सुरक्षा भत्ता लगायतका कामकाज हुन सकेका छैनन् । एकैपटक तलब आउँदा होली मनाउने आशमा रहेको शिक्षकहरु तलब नपाएपछि निराश बनेका छन् ।
यसअघिका प्रमुख प्रशासकिय अधिकृत चौधरीसँग अध्यक्ष बछारको साँठगाँठ रहने र उनीसँगको मिलेमतोमा व्यापक भ्रष्टाचार गरेको हुँदा उक्त भ्रष्टाचारको पोल खुल्ने डरले पाललाई हाजिर हुनबाट रोकेको उपाध्यक्ष रायको आरोप छ । उनले भनिन्, उनले भनिन्, ‘३ वर्षदेखि कामकाज गर्दै आउनुभएका हाकिमको सरुवा भएपछि नयाँ हाकिमलाई हाजिर हुन दिनुपर्छ । यहाँ मिलेर भ्रष्टाचार गर्न पाइन्छ भनेर हाजिर हुनबाट रोकी जनताको कामकाज प्रभावित पार्ने कार्य सह्य हुने छैन ।’ यता अध्यक्ष बछारले भने प्रमुख प्रशासकिय अधिकृत आमोद चौधरीले नै पुनः हाजिर हुनेगरी कामकारवाही भइरहेको प्रतिक्रिया दिए ।