वीरगञ्ज, ३० फागुन । पर्साको ठोरी गाउँ पालिकामा जंगली जनावरको आतंकबाट सुरक्षित रहन लगाइएको काँडेतारलाई नेपाल भारत सीमा क्षेत्रमा अतिक्रमण रोक्न लगाइएको भनेर भ्रम फैलाइएको छ ।
सीमावर्ती भारतीय जंगलबाट आउने जनावरले बालीनाली नष्ट गर्ने र नागरिकलाई दुःख दिने गरेकाले जनावरलाई रोक्नका लागि दशगजा सीमा क्षेत्र छोडेर तारबार लगाइएको गाउँ पालिकाले जनाएको छ । तर, गाउँ पालिका ३ का वडा अध्यक्ष सूर्य बहादुर लामाले भारतको अतिक्रमण रोक्न काँडे तार लगाइएको भनेर भ्रम फैलाइरहेका छन् ।
गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठले पनि तारवार जंगली जनवारलाई रोक्ने उद्देश्यले लगाइएको स्पष्ट पारे । उनले भने, ‘स्थानीयहरुले लगाएको बालीनालीमा क्षति नपुगोस, जंगली जनवार गाउँ पसेर जनधन क्षति नगरुन् भन्ने एक मात्र उद्देश्यले तारवार लगाइएको हो । वडा अध्यक्षजी कुन मिडियामा गएर के भन्नु भयो त्यसको जिम्मेवारी मैले लिन सक्दिन । भारतसँग अतिक्रमण रोक्ने जस्ता कुराहरु गलत हुन् । विश्वास नगर्नुहोस् । सीमामा तारबार लगाउने हाम्रो अधिकार क्षेत्रभित्र पर्दैपर्दैन ।’
गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले पनि अध्यक्षकै कुरामा सहमति जनाउँदै भने, ‘जंगली जनवारलाई गाउँमा पस्न नदिन तारबार लगाइएको हो । तारबार लगाउँदा भारतीय सिमा सुरक्षा बल र स्थानीय प्रशासनसँग समन्वय पनि गरिएको छ । उहाँहरुको सहयोगले लगाइएको तारबारलाई सीमानाकामा भारतको अतिक्रमण रोक्न गरिएको भन्ने कुरा गलत हो ।’ तर, वडा अध्यक्ष लामाले तारबार लगाउँदा भारतले रोकटोक गरेको बताएका छन् ।
वडा अध्यक्षले सञ्चार माध्यममा तारबारको विषय उठाउनु पहिलादेखि नै यस बारेमा भ्रम छरिएको अधिकृत श्रेष्ठले बताए । ‘यो हल्ला आजदेखि को होइन, धेरै अघि पनि एक पटक यसैगरी हल्ला चलेको थियो । तर त्यस्तो केही होइन । खेत र बस्ति जोगाउन लगाइएको तारबार हो,’ उनले भने ।
ठोरी गाउँ पालिकाको योजना शाखाका प्रमुख अर्जुन कुमार जिसीका अनुसार बजेट पुस्तिकामा पनि ‘जंगली जनावरबाट अन्नबाली जोगाउन काडेतारवार’ भन्ने शीर्षकमा बजेट छुट्याईएको छ ।
यद्यपी वडा अध्यक्ष लामाले सीमा अतिक्रमण, तस्करी र जंगली जनावर सबै रोक्नका लागि लगाइएको भन्दै दावी गरिरहेका छन् । ठुटे खोलादेखि नयाँ बस्ती ब्रम्हनगरसम्म करिब ५ किलोमिटर लम्बाई तारबार गरिएको वडाअध्यक्ष लामाले बताए ।
लामाका अनुसार आर्थिक वर्ष २०७४/७५ मा १५ लाख, ७५/७६ मा १० र ७६/७७ मा ८ लाख बजेट बिनियोजना गरेर काडेतार गरिएको हो । आगामी निर्वाचनमा पुनः वडा अध्यक्षमा निर्वाचित भएपछि काँडेतारको सट्टा ढलान गरेर पर्खाल बनाउने योजना रहेको पनि लामाले बताए । दशगजा छोडेर लगाइएको काडेतारका कारण तस्करी नियन्त्रण, सिमा अतिक्रमण र जंगली जनावरको त्रास कम भएको लामाको दावी छ ।

pk-farnichar GBR