वीरगञ्ज, २५ फागुन । वडामा रहेको एक मात्र खुल्ला ठाउँ मासिन लागेको भन्दै स्थानीयले विरोध जनाएका छन् । सार्वजनिक जग्गा मिचेर भोजपुरी प्रतिष्ठानको भवन बनाउन नदिने भन्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ का बासिन्दा विरोधमा उत्रिएका हुन् ।
करिब ३२ सय घरदुरी रहेको वडास्थित ४ कट्ठा क्षेत्रफलको एक मात्र सार्वजनिक जग्गामा प्रतिष्ठानको भवन बनाउन नदिने स्थानीयको अडान छ । ४ कट्ठा जग्गामध्ये २ कट्ठा क्षेत्रफलमा यसअघि नै धर्मशाला निर्माण भइसकेको छ । बाँकी रहेको जग्गामा महानगरपालिकाले भोजपुरी प्रतिष्ठानको भवन निर्माण गर्न लागेको हो ।333
भोजपुरी प्रतिष्ठान वीरगञ्जको भवन निर्माण हुने क्षेत्रमै दलित बस्ती पर्छ । सो बस्तीका बासिन्दाहरुले बिहे, भोज भतेर जस्ता कार्यक्रम गर्दा पार्टी प्यालेसमा गर्न नसक्ने भएकाले सोही धर्मशाला र खाली जग्गाको उपयोग गर्ने गरेका छन् । सोही ठाउँमा भवन निर्माण गर्दा दलित बस्तीसँगै अन्य वडा बासीहरुलाई समस्या हुने स्थानीय रबिन्द्र ठाकुरले बताए ।
उनी भने, ‘वडामा यही एक ठाउँमा मात्रै सार्वजनिक जग्गा छ । धर्मशाला पनि यहाँ बनेकै छ । बिहे भोज, बैठक, पूजापाठ जस्ता धार्मिक, सांस्कृतिक र सार्वजनिक कार्यक्रम गर्दा गरिब, दलित एवम् विपन्न परिवारलाई सहज हुन्छ । कतै आगलागी, भुकम्प जस्ता दैवीक एवम् प्राकृतिक प्रकोप भएमा पनि खाली जग्गा हाम्रो लागि आवश्यक छ । बरु गोली खान तयार छौँ, तर भवन बनाउन दिँदैनौँ ।’
‘सार्वजनिक सम्पति मास्न पाइँदैन’ भन्दै वडाबासीले भोजपुरी प्रतिष्ठान वीरगञ्ज यहाँ निर्माण गर्न नदिने भन्दै विरोध तथा अन्सन नै शुरु गरेका छन् । वडा सदस्य एवम् वडाबासीसँग समन्वय नै नगरेर वडा अध्यक्ष राजकिशोर गुप्ता र नगरप्रमुख विजय कुमार सरावगीले २० प्रतिशत कमिशन खाएर भवन बनाएको वडा सदस्य गफार हवारीको आरोप छ ।

मधेश प्रदेश सरकारको १ करोड र वीरगञ्ज महानगर पालिकाको ५० लाख गरी पहिलो चरणमा डेढ करोडको लागतमा मुख्यमन्त्री लालबाबु राउत र मेयर सरावगीले ९ फागुन २०७७ मा भवनको शिलान्यास गरेका थिए ।
मेयर सरावगीका अनुसार आगामी दिनमा लगानी थप्दै भवनलाई सुविधा सम्पन्न बनाउने योजना छ । उनले भने, ‘यो ठूलो प्रोजेक्ट हो; अहिले डेढ करोडको भएपनि आगामी दिनमा ५ करोडसम्मको लगानी थपेर बहुउपयोगी ५ तल्ले भवन बनाउने योजना छ । यो कुनै महानगरपालिकाको निजी सम्पती नभएर सबैको साझा सम्पती हो ।’
विपक्षीहरुको उक्साहटमा विरोध भईरहेको मेयर सरावगीको प्रतिक्रिया छ । चुनाव नजिकै भएकाले आफ्नो लोकप्रियता देखेर भवन निर्माणको विषयलाई लिएर निहुँ खोजिएपनि भवन निर्माणको काम नरोकिने सरावगीले बताए ।
वडाअध्यक्ष राजकुमार गुप्ताले शुरुमा भवन बनाउने सहमति जनाएपनि अहिले वडाबासीलाई उक्साएर दोहोरो चरित्र देखाएका छन् । यसअघि गुप्ताले वडावासी सहमत भएको भन्दै महानगरपालिकाको बोर्ड बैठकबाट भवन निर्माणको निर्णय गराएपनि अहिले आफै वडाबासीलाई उक्साएर विरोध गर्न लगाएको बुझिएको छ । गुप्ता भन्छन्, ‘बोर्डबाट पास भएर भवनको शिलान्यास गरिएको हो । अहिले जनताले जे भन्छन्, त्यही हुन्छ । जनताको अगाडी हाम्रो के लाग्छ र ?’
विरोध सभामा वडा सदस्य गफार हवारी, छोटेलाल कहा, परमशिला देवी, सरिता गिरी लगायत स्थानीयले समर्थन जनाएका छन् ।pk-farnichar GBR