मुक्त नागरिक विवेकको जगमाथि पारदर्शी, खुला र बहसाभिमुख विचार बलियो बन्न नसकेको समाजमा कुनै संरक्षक या तारणहार पर्खेर बस्ने नायकवादी, मसिहावादी चरित्र कसरी मूलधार बन्छ ? २०७२ सालयता केपी शर्मा ओलीको उदय र तिनको अनपेक्षित प्रभाव विस्तारले बताउँछ । यस्ता पात्रको हालहुकुम र लोकप्रियताले गतिमान ठानिएको इतिहासलाई कसरी गतिकै विज्ञानविपरीत हिँडाइदिन्छ भन्ने कुरा पनि टड्कारो देखिएको छ । इतिहास स्थिर र अटल भएर एकै ठाउँ बसिरहँदैन, यसको गति अनिवार्य छ । कुरा यति मात्र हो, त्यो गति निरन्तर अगाडि बढ्नेवाला हो कि पछाडि फर्कनेवालाचाहिँ हो । बोधको सहजताका लागि यो भिन्नतालाई प्रगतिशील गतिशीलता र पश्चगामी गतिशीलताको द्विचर विपरीत (बायनरी अपोजिट) धारणाबाट हेरिनु उपयुक्त हुन्छ ।

यति बेला समयको उल्टो गतिक्रमका लागि ताउरमाउर गर्दै उत्ताउलिएको गाडीका मुख्य चालक केपी शर्मा ओली इतिहासको प्रगतिशील गतिशीलतामाथि उपहास गर्दै राजनीतिलाई गैरराजनीतिक कारबाही बनाउन सकेसम्मको बलले लागिपरेका छन् । उनले जति स्पष्टीकरण दिए पनि समग्र राजनीतिक परिवर्तन, संविधान र गणतन्त्रप्रति उनको निष्ठा धेरैपल्ट डगमगाइसकेको छ । आम श्रमजीवी र प्रतिरोधी जनताको गणतन्त्रको सपनालाई ‘बयलगाडामा चढेर अमेरिका पुग्ने दुःस्वप्न’ सँग दाँज्ने ओली कुनै पनि अर्थमा आजको व्यवस्थाका नाइके हुन लायक थिएनन् तर इतिहासलाई यही विरोधाभासका बीच हिँड्ने बाध्यता आइलाग्यो । यो बाध्यताको नाभिनाल मूलतः बहुधा रूपमा खाँदिएर बसेको वर्चस्ववादी शासक–प्रायोजित राष्ट्रवाद र अंशतः नेपाली वामपन्थले बोक्दै आएको ‘विस्तारवादी’ नाराको भाष्यसँग जोडिएको स्पष्ट नै छ । इतिहासको प्रस्ट दिशाबोध, विचारधारा र कार्यक्रमबिना मुखले हाँक्ने ‘विकास’ र चीन–कार्डका भरमा मसिहाकरण हुन पुगेका ओली एक पात्र मात्र पनि होइनन्, सिंगै प्रवृत्तिको समुच्चय हुन् । मसिहाकरणका लागि ‘विचार’ वा नीति चाहिँदैन, निश्चित प्रवृत्तिलाई हाँक्ने नेतृत्व दिन सके पुग्छ । यस अर्थमा ओली प्राविधिक रूपमा एमालेजनका मात्र ‘बा’ होलान् तर प्रवृत्तिगत रूपमा २०६२–६३ आन्दोलनको ‘ल्यान्डिङ’ र त्यसपछि मुखर रूपमा प्रकट भएका मधेस लगायत आन्दोलनहरूको भाषा र भाव आत्मसात् गर्न इन्कार गर्नेहरूको ठूलो पंक्तिका मुखिया हुन् ।

नवनिर्मित नेपालको संविधानमाथि दक्षिणी छिमेकको अनुचित हस्तक्षेप र संविधानप्रति मधेसको सामयिक तर जरुरी प्रतिकार ओली–उदयका प्रभावकारी नट–बोल्ट बनिदिए । न पछिल्लो परिवर्तनको आधार–संघटनारूपी दसवर्षे जनयुद्धलाई जस दिने उदारता, न २०६२–६३ को आन्दोलनमाथि वैचारिक स्वामित्व न त मधेस–थारू–जनजाति–महिला–अल्पसंख्यकजस्ता अधिकार र पहिचानका आन्दोलनहरूप्रति नै सम्मान । यी तीनैवटा आधारभूत वस्तुस्थितिप्रति भयंकर उपेक्षा र अनादर गर्ने पात्रलाई नै नयाँ व्यवस्थाको कारयित्री जिम्मा दिने ठहर वास्तवमा समयको स्वाभाविक संयोग मात्र थिएन । गैरराजनीतिक–आपराधिक पृष्ठपोषणसहित नामनामका बाहुबली पाल्ने हैसियत बनाएका ओलीले एमालेगणभित्र जसरी शक्ति आर्जन गरे त्यसको पनि मसिनो अध्ययन गर्ने हो भने ओली भ्रष्ट चिन्तन र विषाक्त राजनीतिका उद्भट उत्पादन हुन् भन्न एक मिनेट पनि सोच्नुपर्दैन । परिणामतः आज सिंगो नेकपा (एमाले) उनैको विषाक्त पथको अनुगामी भएर हिँडिरहेको छ भने अनेक प्रोपगान्डा र झुठा, आधारहीन प्रपञ्चको खेती गरेर जनसमुदायलाई दिग्भ्रमित बनाउँदै राजनीतिक ‘करिअर’ को खेतीपाती गर्न पनि अन्य दलभन्दा एमालेजन नै अगाडि देखिन्छन् ।

इमानदारी या धोकाधडीका सबै पूर्वानुमानलाई अलि बेर एकातिर राखेर कुनै पूर्वाग्रहबिना बोल्ने आँट गर्ने हो भने, संघीय गणतन्त्र नेपालको पहिलो संसद्को चुनावपछि सर्वथा पहिलो नेतृत्व गर्ने हक नेकपा (माओवादी केन्द्र) लाई नै हुनुपर्थ्यो । तर त्यति ठूलो बलिदान र उपलब्धिको रक्षा गर्ने गरी धैर्यपूर्वक राजनीति गर्ने परिपक्वता स्वयम् माओवादी नेतृत्वमा देखिएन । जुन शक्तिको कार्यदिशा र प्रस्तावका कारण मुलुकमा फरक परिदृश्यको आयाम रचना भयो, त्यही शक्ति ओझेलमा बसेर केवल सत्ताको स्पेसका लागि यो व्यवस्थाप्रति रत्ती पनि प्रतिबद्धता नभएको, झुठो नायकी र धूर्त प्रपञ्चकारी वाहवाहीले निर्माण भएको पात्रकै हातमा व्यवस्थाको चाबी थमाइदिनु त नेकपा (माओवादी केन्द्र) को सबैभन्दा ठूलो त्रुटि थियो । तत्कालको भागबन्डा र सत्ताको शक्तिसंघर्षमा आफ्नो स्थान के हुन्छ भनी मात्र विचार गर्दा त्यसको कतिसम्म विध्वंसकारी परिणति निस्कन्छ भन्ने दूरदर्शिता नभएकैले २०७४ मंसिरयता ‘पार्टी एकता’ को नखरमाउलो हर्कत देखाउने माओवादी नेतृत्वले गतिलै पाठ सिकेको अनुमान गरिन्छ । तर, धेरै कुरा तहसनहस भइसकेपछि जति नै ठूलो आत्मसात् गरे पनि त्यसले खास अर्थ राख्दैन ।

इतिहासको लामो समयरेखामा पछिल्लो आधा दशकको स्थान कति र मूल्यांकन कस्तो होला ! तर, समयको प्रगतिशील गतिमा तगारो हाल्न र अग्रगमनको सपनालाई विषाक्त बनाइदिनचाहिँ ओली–वर्चस्वका यी वर्षहरू चिरस्मरणीय हुने तय छ । ओलीको विषाक्त राजनीतिमा माओवादी र त्यसका मुख्य कर्ता प्रचण्डको पनि विशेष ‘योगदान’ रह्यो भन्ने तथ्य पनि यहीँनेर थप स्मरणीय हुनेछ ।

आफूसँग दुईतिहाइसहितको बलियो बहुमत हुँदाहुँदै दुई–दुईपल्ट संसद् विघटन गरेर संसदीय व्यवस्थालाई पंगु बनाउने ओली र उनको दलले यति बेला पुनःस्थापित संसद्को समेत अधिवेशन लगातार अवरुद्ध गरेर संसदीय प्रणालीको अस्तित्व र गरिमा धूलिसात् पार्न कम्मर कसेको छ । व्यक्तिगत प्रतिशोध र दलीय अहंकार तुष्टिका लागि ओली कुन हदसम्म गिर्न सक्छन् भन्ने कुरा पछिल्ला केही दिनयता अझ स्पष्टसँग देखिँदै छ । संसद्बाट एमसीसी अनुमोदन गराउन सघाउने सर्तमा बहालवाला सभामुखलाई महाभियोग लगाएर हटाउनुपर्ने उनको पछिल्लो प्रस्ताव त्यही प्रतिशोधी राजनीतिकै अभिव्यक्ति हो ।

ओलीले संसद् विघटन गरेर अदालतको परमादेशबाट संसद्को पुनःस्थापना भएयता पनि नारायणीमा धेरै पानी बगिसकेको छ । भन्नुको अर्थ, राजनीति ठीकठाक दिशामा गतिमान हुन सकेको छैन । सरकारको नेतृत्व गरिरहेका हालका प्रधानमन्त्री विगतका ओलीभन्दा कम हानिकारक मात्र प्रतीत भएका छन् । इतिहासले पटकपटक साबित गरिसकेको तथ्य हो— उनीबाट त्योभन्दा बढी अपेक्षा गरिनु व्यर्थ छ । गठबन्धनका अन्य दल प्रपञ्चकारी ओलीसँग असुरक्षित महसुस गर्दै ‘हाइड एन्ड सिक’ खेल्नै व्यस्त भएजस्ता देखिन्छन् । यसबीच लगातार गम्भीर आत्मसमीक्षाको मुद्रामा देखिएर प्रचण्डले प्रगतिशील तप्काको विश्वास जित्न खोजेको देखिन्छ तर पार्टीभित्र शक्तिशाली, हस्तक्षेपकारी र क्रान्तिकारी नवपुस्ता बनाउन नसकेको उनको दलले इतिहासको पश्चगामी गतिशीलता रोक्न ल्याकत राख्ने आकलन गर्न गाह्रो छ । सरकार र सत्ताको लेनदेनलाई नै राजनीतिक दैनन्दिनी बनाएर त्यसका लागि आर्थिक–नैतिक भ्रष्टाचारलाई बेरोकटोक प्रश्रय दिने र संगठित वैचारिक–सांस्कृतिक आन्दोलनप्रति उदासीन हुने प्रवृत्तिले माओवादी केन्द्र अध्यक्षको मुखबाट मात्रै परिचालित भइरहेको पार्टी बनेको छ भन्न संकोच मान्नुपर्दैन । बलिदानी इतिहास र त्यसका प्रतिदानहरूको रक्षा गर्ने गरी मुखर कदम चाल्ने तीव्र वैचारिक अभियान र बहसहरू सञ्चालन गरिए प्रतिगामी विचार र आक्रमणहरू रक्षात्मक हुन सक्थे । तर त्यसो गर्ने जाँगर प्रचण्ड र उनको दस्तासँग देखिँदैन । माओवादीकै अन्य शक्ति र कम्युनिस्ट भनाउने दलहरू आआफ्नै विवाद र सीमाका घेरामा कुँजिएका छन् । कांग्रेसका लागि आजको परिवर्तन ‘आए आँप गए झटारो’ भन्दा बढी भएजस्तो देखिँदैन । यी सबै स्थितिको लाभ कसरी लिनुपर्छ भन्ने कुरा प्रचुर अवसरवादी ओली र उनको मण्डलीले बुझेको छ । त्यसबाहेक ‘विचारभन्दा माथि देश’ खालका अतिरञ्जित विचारको प्रचार गर्नेहरू पनि यो व्यवस्थालाई पत्रु साबित गरेर स्वार्थसिद्ध गर्न दृश्य–अदृश्य प्रपञ्चहरूमा कहाँकहाँ सामेल होलान्, भन्न गाह्रो छ ।

विचार र अधिकारको बहस गर्नेहरूलाई विदेशी लगानीका डलरवादी ‘फण्डित’ नामकरण गर्ने, विचारलाई राजनीतिनिरपेक्ष मान्ने र निषेध गर्ने प्रवृत्ति आजको होइन, पुरानै हो । हिन्दु र हिन्दुत्वलाई समुदायविशेषको सांस्कृतिक मूल्य र स्वतन्त्र आचार–व्यवहारका रूपमा नलिई नागरिकता र ‘राष्ट्रिय पहिचान’ सँग मात्रै जोडेर छलफल गर्ने अतिवादी नस्लीय हिन्दु राष्ट्रवादको छिमेकी प्रभावले यो घेरोभन्दा बाहिरको बहसलाई कठोर रूपमा निषेध र आक्रमण गर्ने प्रवृत्ति अहिले तीव्रतासाथ फैलिएको छ । यसमा आफूलाई कम्युनिस्ट भनाउन नछाडेको ओली मण्डली पनि सहभागी छ ।

...

यद्यपि विद्यमान नेपाली राजनीति, सार्वजनिक मञ्च र कथित मिडिया–विमर्शहरूमा एक ओली मात्र छैनन्, ओलीका कैयौं ‘क्लोन’ सक्रिय छन् । ओली–क्लोनहरू उनको पार्टिभित्र जति संख्यामा छन्, त्योभन्दा बढी एमालेबाहिर क्रियाशील छन् । ती कतै ‘सेता कमिजधारी’ पब्लिक इन्टेलेक्चुअलका रूपमा छन् त कतै संस्थानिक ‘प्राज्ञिक व्यक्तित्व’ का रूपमा र कतै धुनधानका कानुनविद्, संविधानविद्का रूपमा । यिनका कुरा र क्रियाशीलताले देखाउँछ— यी सबैको प्राथमिक उद्देश्य एक भाषा, एक संस्कृति र एक ‘राष्ट्र’ को वर्चस्व रहने गरी संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रमाथि आक्रमण गर्नु हो । मधेस, दलित, महिला र सीमान्त समुदायको हितरक्षाको बहस हुनासाथ ‘सुन्दर–शान्त–विशाल देश’ को अखण्डतामाथि प्रश्न उठेको ठान्ने यो समुदायमा सार्वजनिक बहसहरूमा ओलीजस्तै देखिने, ओली–ओली गन्ध आउने पात्रहरूको बाहुल्य र विस्तार बढ्दो क्रममा छ । महिलाले स्पेस खोज्दा ‘एनजीओको ट्याउँट्याउँ’ हुने, मधेसीहरूको रक्तपातपूर्ण कत्लेआम गरेर ‘आँप झरेको’ भन्न सक्ने पात्रले नेतृत्व गरेको समयसँग यी समुदायले कस्तो आशा गर्ने ? प्रश्न जीवितै रहन्छ ।

राजतन्त्र र राजसंस्थाको खुला पैरवी गर्दै राजनीति गर्ने राजेन्द्र लिङ्देन बरु छद्मभेषी लाग्दैनन् । यो उनको प्रस्ट पक्षधरता हो । तर उदार लोकतन्त्रको आवरणमा छद्म र रहस्यमय ‘राजनीति’ गरिरहेका ओली र उनको मण्डलीदेखि विदेशी विचारक भन्दै मार्क्स–लेनिन–माओमाथि खनिने, उत्पीडित समुदाय र भाषा–संस्कृति–पहिचान (राष्ट्र) माथि सीधै वा परोक्ष प्रहार गर्ने शाहतन्त्रपोषक रवीन्द्र मिश्रसम्मÙ विद्युतीय सञ्चारमाध्यममार्फत परिवर्तनकारी एजेन्डामाथि तीव्र कटाक्ष गर्दै ‘प्रगतिशीलता’ को लेबल लगाउने विजयकुमार प्रवृत्तिदेखि जानाजान क्रान्तिकारी परिवर्तनका विरोधीहरूलाई स्पेस दिइरहेर विषाक्त विचार–प्रसार गरिरहने ‘जानेमानेका’ अन्तर्वार्ताकारहरूसम्म ओली–राजनीतिको सीधा छाया देख्न सकिन्छ । यसको टड्कारो प्रभाव जनमानसभित्र डरलाग्दो गरी छिरेको छ जसले शासकइतर समुदायप्रति असहिष्णु र घातक मानिसहरूको पंक्ति निर्माण गरिरहेको छ ।

यो विषाक्त समयलाई ओली–युग भनेर चिन्नुपर्छ । लेखक, कवि, पत्रकार, शिक्षक, अधिवक्ता लगायत अनेक रूपमा आफ्नै साथीहरूसमेत ओलीका हुबहु क्लोन बनेर प्रकट भएको देख्दा कहिलेकाहीँ आफ्नो समयको चेतनासँगै शंका लाग्छ । कस्तो चेतनाको बीउले बनेका मान्छे हौं हामी ? कुन विवेकले चलिरहेका मान्छे हौं ? यो चेतना नै शंकास्पद लाग्छ । यही चेतले चल्ने हो भने राजनीतिक दाउपेच र चुनावी अवसरवादको प्याकेजभित्र ‘पानीजहाज राष्ट्रवाद’, ‘रामभूमि’, ‘विचारभन्दा माथि देश’ लगायतका फन्डाहरू अझै धेरै देखिन बाँकी छन् । आमूल राजनीतिक र व्यवस्थाजन्य परिवर्तनलाई आधारभूत रूपमै आत्मसात् गर्ने र त्यसलाई इमानपूर्वक संस्थागत गर्ने ठूलो इच्छाशक्ति भएको तप्काले दह्रो हस्तक्षेप गर्न सकेन भने हाम्रो आउँदो दशक ओली या ओली–क्लोनकै विषाक्तताभित्र गुज्रिनेछ ।