सिरहा, २१ पुस । केही दिनदेखि बढेको अत्यधिक चिसोको कारण प्रदेश २ मा अहिलेसम्म तीन जनाको मृत्यु भएको छ ।
बुधबार मात्रै सिराहाको कल्याणपुर नगरपालिका–१ अर्नामाकी ६५ वर्षीय पल्टी सदाको चिसो कारण मृत्यु भएको छ । सदाको बुधबार बिहानै घरमा चिसोले कठ्यांग्रिएर मृत्यु भएको स्थानीय वडाध्यक्ष राजाराम कामतिले जानकारी दिए ।
त्यसैगरि, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने ६१ वर्षीय समुन्द्रीदेवी यादव र सप्तरीको महादेव गाउँपालिकाका–६५ वर्षीय देवनारायण ठाकुरको सोमबार चिसोको कारण मृत्यु भएको छ ।
यसैबीच, दिनभरि चल्ने चिसो हावा, बिहान र राती पर्ने शीतलले प्रदेश २ को जनजीवन प्रभावित हुँदै गएको छ । बुधबार बिहान ८ बजे जनकपुर– काठमाडौं उडान पर्ने बुद्ध एयरको जहाजले पनि उडान भर्न सकेन ।
चिसो बढेपछि बिहान र बेलुकी जनकपुरसहित यस क्षेत्रका बजारको जनजीवन प्रभावित बनेको छ । वृद्ध उमेर समूहका बिरामीको संख्या बढेको जनकपुरधामस्थित प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत चिकित्सक केडि दासले बताए ।