लहान, १९ कात्तिक । चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तिब्र बनाएको बजार अनुगमन टोलीले सिरहा र सप्तरीकोे बिभिन्न पसलबाट करिब डेढ लाख मुल्य बराबरको म्याद गुज्रेको तथा गुणस्तरहीन समान नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
चाडपर्वलाई लक्षित गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाईमा गरिएको बजार अनुगमनको क्रममा अनुगमन टोलीले म्याद गुज्रेको खाद्य पदार्थ तथा पेय पदार्थ फेला परेपछि नियन्त्रणमा लिएर नष्ट पारेको हो ।
लेबल नभएको, म्याद गुज्रेको तथा भारतीय समान बिक्री बितरण गरेको भन्दै अनुगमन टोलीले राजविराज नगरपालिका ७ स्थित आर.यु. पी जेनरल स्टोरमाथि कार्वाही गरेको छ ।
अनुगमनका क्रममा ठुलो परिमाणमा म्याद गुज्रेको समान बरामद् भएको र समानको लेबल नभएको पाईएपछि सो जेनरल स्टोरमाथि कार्वाही स्वरुप रु. १० हजार जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीका प्रमुख सुरेश कुमार सिंहले जानकारी दिनुभयो ।
अनुगमनको क्रममा सिरहास्थित बिभिन्न पसलबाट रु. ६० हजार र सप्तरीको बिभिन्न बजारस्थित पसलबाट रु. ९५ हजार मुल्य बराबरको म्याद गुज्रेको समान बरामद् गरी नष्ट गरेको प्रमुख सिंहले बताउनुभयो ।
उहाँका अनुसार सदरमुकाम सिरहास्थित प्रदीप हट कोल्ड एण्ड जेनरल स्टोरबाट ९६ बोतल बियर, श्रवण इन्टरप्राइजेबाट ९० लिटर सुर्यमुखी तेल र च्युरा तथा रबि जेनरल स्टोरबाट बिस्कुट र कम्प्लाईन जफत गरी नष्ट गरिएको छ ।
यस्तै राजविराजस्थित सियाराम किराना पसलबाट ६५ लिटर घयू, अल इमरान जेनरल स्टोरबाट काजु किसमिस, आनन्द किराना पसलबाट भुजिया, चकलेट, बोदे बसाईन नगरपालिका ५ स्थित अमाना किरानाबाट पसलबाट पेय पदार्थ तथा सुर्तिजन्य पदार्थ, रामबाबु किराना पसलबाट २० लिटर खाने तेल, सगरमाथा होटलबाट चिसो पदार्थ , बियर, महुलीस्थित महुली होटलबाट चिसो पदार्थ बरामद् गरी नष्ट पारेको प्रमुख सिंहले जानकारी दिनुभयो ।
यस्तै सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित निखिल किराना स्टोरबाट काु किसमिस, बिडी, बिनोद फलफुल तथा जेनरल स्टोरबाट काजु किसमिस, बदाम, भुजिया, सन्तोष किराना पसलबाट काजु किसमिस, घयू, महेन्द्र किराना पसलबाट चिसो पेय पदार्थ, किस्कुट, दुखन किराना पसलबाट सागर दुध तथा प्रमोद पान पसलबाट म्याद गुज्रेको चिसो पेय पदार्थ बियर नियन्त्रणमा लिई नष्ट पारेको जनाएको छ ।
अनुगमनका क्रममा बजारका अन्य पसलहरुबाट पनि विभिन्न प्रकारका अखाद्य बस्तु र म्याद गुज्रेका बस्तु जफत गरि तत्कालै आगो लगाएर नष्ट गरिएको संयुक्त अनुगमन टोलीका नेतृत्वकर्ता सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिनुभयो ।
पसलहरुले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराना संक्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुन पानी, सेनिटाइजर, ग्लोभ लगायतमा अनुगमन केन्द्रित रहेको प्रमुख सिंहले बताउनुभयो ।
पसल अनुगमनका क्रममा मूल्य सूची नराखेका पसलहरुमा अबिलम्ब उपभोक्तालाई देखिने गरी मूल्य सूची राख्न, म्याद गुज्रिएका खाद्यबस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलो पटक चेतावनी दिएको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाका प्रमुख दिपेन्द्र कुमार यादवले जानकारी दिनुभयो । अर्को पटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही गरिने उहाँको कथन थियो ।
यसअघि पनि अनुगमन टोलीले म्याद गुज्रेको समान बिक्री गर्ने सप्तरी र सिरहाका ६ व्यापारीमाथि कार्वाही गरेको थियो ।