फाईल फोटो ।

सिरहा, ३ कात्तिक । हुलाकी सडक अन्तर्गत सिरहा धनुषा जोड्ने कमलानदीको पुलको तेस्रो पिलर (स्पान) भासिएको छ ।
लगातारको बर्षाले कमला नदीमा आएको बाढीले केही महीनाअघि मात्रै निर्माण सम्पन्न भएको पुलको अर्को स्पान पनि बुधबार भासिएको हो ।
बुधबार मध्यान्ह धनुषा जिल्लातर्फको ३ नम्बर पिलर भासिएको सूचना प्राप्त भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद बास्तोलाले जानकारी दिए ।
‘पुलको पिलर भासिएको सूचना आएको छ, कमला सिंचाई आयोजना र सुरक्षाकर्मीलाई निरीक्षण गर्न भनेका छौं’ उनले भने ।
यस अघि सोही पुलको एउटा स्पाम १७ असारमा भासिएको थियो । सिरहाको बसपिट्टा भन्ने स्थानमा यसअघि पुलको स्पान भासिएको थियो ।
कमला पुलको झण्डै ९९ प्रतिशत काम सम्पन्न भइसकेको थियो । पुलको फिनिसिंग गर्न मात्रै बाँकी रहेको ठेकेदार कम्पनीले जनाएको थियो ।
यो पुल निर्माणको ठेक्का २०६८ मै पप्पु–लुम्बिनी जेभीले पौने २५ करोडमा लिएको थियो । तर, पछि पप्पुले काम छाडेपछि लुम्बिनी बिल्डर्सले बाँकी काम सम्पन्न गरेको थियो ।