गमक पोष्ट समाचारदाता
सप्तरी, २६ असोज । सप्तरीमा वडाअध्यक्षको कुटाईबाट एक युवक गम्भिर घाइते भएको छ । महिला भगाएको विषयमा बसेको पञ्चायती (छलफल) मा रुपनी गाउँपालिका १ का वडा अध्यक्ष पिताम्बर यादव सहित समूहको कुटाइबाट स्थानीय २५ बर्षीय पुरुषोत्तम सदालाई मरणासन्न हुनेगरी कुटपीट गरेको हो ।
पञ्चायतमा वडा अध्यक्षसहितका पाँच जनाको समूहले युवकलाई मरनासन्न हुनेगरी कुटपिट गरेको स्थानीय राजु जयसवालले बताए । कुटपिटबाट युवक गम्भीर घाइते भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा प्रहरी पुग्दा सबैजना भागेको जयसवालले जानकारी दिए । घाइते युवकको राजविराजको गजेन्द्रनारायण अस्पताल उपचार भईरहेको छ । सप्तरीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले पनि घटनाबारे प्रहरीलाई जानकारी आएको बताए । उनले पीडितबाट जाहेरी आइनसकेको बताउँदै जाहेरी आउन साथ घटनामा संलग्नहरूमाथि कारबाही हुने बताए ।
वडा अध्यक्ष यादवले भने आफुले कसैलाई कुटपिट नगरेको जनाए । महिलालाई भगाएर ल्याएको विषयमा गाउँमा छलफल बस्दा समाजमाथि अश्लिल शब्द प्रयोग गर्दा छलफलमा बसेका केही व्यक्तिबीच सामान्य घम्साघम्सी मात्र भएको उनले सुनाए । युवक आफै लागुऔषध सेवन गरेर बेहोश भएको अध्यक्ष यादवको दावी रहेको छ ।