गमक पोष्ट समाचारदाता
वीरगञ्ज, १२ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पर्साको कालिकामाई गाउँ पालिकामा छापामारेको कागजातहरु नियन्त्रणमा छ । गाउँपालिका विरुद्ध परेका विभिन्न उजुरीको आधारमा अख्तियारले छापामारी अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिएको हो ।
जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको उजुरी अख्तियारमा परेको जनाएको छ । सोही उजुरीको आधारमा अख्तियारको टोलीले गाउँपालिकाले सञ्चालन गरेका शंकास्पद योजना तथा कार्यक्रमहरुको प्रमाणित कागजात नियन्त्रणमा लिनुको साथै विभिन्न वडामा सञ्चालन भएका कामहरुको स्थलगत अवलोकन समेत गरेको आयोगले जनाएको छ ।
कालिकामाई गाउँपालिले सञ्चालन गरेको विकासे योजना, कर्मचारी भर्ना, सम्मान, धारा जडान कार्यक्रम, आइसोलेसन निर्माण, नदी सफाइ तथा सडक ढलान आदिको बिषयमा अख्तियारमा उजुरी परेको जनाएको छ ।
सोही आधारमा अनुसन्धानका लागि आवश्यक कागजातहरु माँग गर्दा गाउँपालिकाले प्रमाणित कपी नपठाएकोले बाध्य भएर कार्यालयमै छापामारी गरी नियन्त्रणमा लिनुपरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।