गमक पोष्ट समाचारदाता / वीरगञ्ज, १२ असोज । अन्तराष्ट्रिय सुरक्षित गर्भपतन दिवसको अवसरमा वीरगञ्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । युवा नामक गैरसरकारी संस्थाले संस्कृति वीरगञ्जसँगको सहकार्यमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।antarkriya
संस्थाका कोषाध्यक्ष शतिष कर्णको सभापतित्वमा भएको उद्घाटन समारोहलाई सम्बोधनगर्दै वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले सुरक्षित गर्भपतनले नेपालमा वैधानिकता पाएको भएपनि धेरै नागरिक अनविज्ञ रहेको बताए । यौन तथा प्रजनन स्वास्थ्यको बारेमा सबैलाई सचेत बनाउन संघ संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै मेयर सरावगीले वीरगञ्ज महानगरपालिकापनि सहकार्य गर्न तयार रहेको बताए ।
त्यसैगरी पर्साको पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले गर्भपतन जस्तो संवेदनशिल विषयमा बहस र बिमर्स हुनुपर्ने आवश्यक्ता औँल्याईन् । अँझै पनि हाम्रो समाजमा यस विषयमा खुलेर कुरा गर्ने अवस्था नरहेको हुँदा लुकाउनु पर्ने र लाजमान्ने अवस्थाको अन्त्यकालागि सबै जागरुक हुनुपर्नेमा खातुनले जोड दिईन् । शिक्षा र समाजको तादम्यता नमिल्दा समस्या भएको बताउँदै उपप्रमुख खातुनले ग्रामिण क्षेत्रमा गर्भपतन सम्बन्धी ज्ञानको अभावकै कारण धेरैले नचाहेर पनि सन्तान जन्माउनुपर्ने बाध्यता रहेको बताईन् ।
उद्घाटन पश्चातको अन्तरक्रिया कार्यक्रममा वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा संयोजक अरुण कुमार महतोले वीरगञ्ज महानगरपालिकाले स्वास्थ्यसँगै प्रजनन स्वास्थ्यलाई पनि प्राथमिकता दिएको बताए । वीरगञ्ज ९ र नारायणी अस्पताल पर्ने वडा नमबर ३ र ४ बाहेक अरु सबै वडामा आधारभुत स्वास्थ्यको सुनिश्चितता भइसकेको महतोको भनाई छ । अशिक्षाकै कारण मातृ मृत्युदर पनि उच्च रहेको हुँदा सचेतना र जागरण फैलाउनुको विकल्प नरहेको महतोले बताए ।
नारायणी अस्पतालकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. प्रीति यादवले यौन तथा प्रजनन स्वास्थ्यको उचित ज्ञान नभएर समाज र परिवारको डरका कारण पनि युवाहरु हिचकिचाउने गरेको बताईन् । उनले भनिन्, ‘१२ हप्ता सम्मको गर्भलाई चिकित्सकको मञ्जुरीमा सुरक्षित रुपमा गर्भपतन गर्न सकिन्छ । सबैलाई जनचेतना जगाउन सके गर्भपतन गर्ने अवस्था नै आउँदैन ।’ ‘गर्भपतनभन्दा अगाडी नै अरु धेरै उपायहरु भएको हुँदा गर्भपतन अन्तिम विकल्प हो’, डा. यादवले भनिन् ।
सामाजिक अभियानता एवम् महिला अधिकारकर्मी डा. सुष्मा तिवारी द्विवेदीले गर्भपतनलाई परिवार नियोजनको साधन बनाउन नहुने बताईन् । आफुले पनि गर्भपतन गर्दाको पिडा सुनाउँदै डा. द्विवेदीले भनिन्, ‘हाम्रो समाज अशिक्षित छ, परिवारसँग यौन र प्रजननका कुरा गर्ने छोरा छोरीलाई संस्कारी मान्दैन । जुन एउटा ठूलो समस्याहो । आधारभूततहको पाठ्यक्रममापनियौनतथाप्रजनन स्वास्थ्यलाई समावेश गर्नुपर्छ ।’ विशेष गरी किशोर किशोरीको गोपनीयतालाई मध्यनजर गर्दै फोन तथाम्यासेज जस्ता भौतिक उपस्थितीबिना नै सल्लाह र सुझावदिने व्यवस्था गर्नुपर्ने डा. द्विवेदीको धारणा छ ।
सुरक्षित गर्भपतन सम्बन्धी कामगर्दै आएको म्यारीस्टोपका सुरेश ठाकुरले अभिभावकहरुको चेतनास्तर माथी उकास्नुपर्ने बताए । छोरी र अभिभावकबिच गर्भपतन सम्बन्धी खुलेर कुरा गर्ने अवस्था आएमा मात्रै परिवर्तत हुने ठाकुरको भनाई छ । अन्तरक्रिया कार्यक्रममा युवाकी उपाध्यक्ष निशा अधिकारीले सहजकर्ताको भूमिका निर्वाह गरेकीथिईन् ।
संस्कृति वीरगञ्जका संयोजक आँशु कुमार सर्राफले धन्यवादव्यक्त गरेको कार्यक्रमको सहजिकरण युवा वीरगञ्जका विवेक कर्ण र रेखा सिँहले गरेका थिए ।