गमक पोष्ट समाचारदाता / सप्तरी, १८ भदौ । खाद्य पदार्थमा हुने मिसावट र खाद्य स्वच्छता अभिबृद्धि गर्ने उद्देश्यले सप्तरी र सिरहाका सडक पेटीमा खाद्य पदार्थ बिक्री गर्नेहरुलाई तालिम दिइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा राजविराजमा ठेला तथा फुटपाटमा खाद्य पदार्थ बिक्री गर्ने ४० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंहले सप्तरी र सिरहाका सडक पेटीहरुमा बेचिने खानेकुराको गुणस्तरको वर्तमान अवस्था, व्यवसायीले दैनिक रुपमा गर्नुपर्ने तयारी, खाद्य पदार्थ बिक्री स्थलको तयारी बिषयमा कार्यपत्र प्रस्तुत गरे भने ठेला गाडाको तयारी बिषयमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय मंलगवा सर्लाहीका प्रमुख जगत प्रकाश चौधरीले कार्यपत्र प्रस्तुत गरे ।
सडक पेटीमा खुल्ला रुपले बिक्री गर्ने खाद्य पदार्थको गुणस्तरको बिषयमा व्यापक गुनासो आउने गरेकोले यसमा सुधार ल्याउन र खाद्य स्वच्छता प्रबद्र्धन गर्न फुटपात पसलेहरुलाई प्रशिक्षण दिइएको प्रमुख सिंहले जानकारी दिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत कल्पना मानन्धर, नागरिक उपभोक्ता मंचका राजेन्द्र प्रसाद यादव, उद्योगपति मिलन सिंह, राजविराज नगरपालिका ८ का वडाअध्यक्ष जय नारायण मण्डल लगायतले कार्यपत्र माथि टिप्पणी गरेका थिए ।





















