गमक पोष्ट समाचारदाता / दाङ, १७ भदौ । दाङमा खोलाले कार बगाउँदा कारमा सवार चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएको छ । नेपालगन्जबाट घोराहीतर्फ जाँदै गरेको प्रदेश ०३–०१–०२४ च ४४४० नम्बरको कारलाई घोराही उपमहानगरपालिका–४ गोग्लीस्थित सिस्नेखोलामा आएको बाढीले बगाउँदा घोराही–१६ सर्राकी ३२ वर्षीया सुशीला श्रेष्ठ, उनकी बहिनी ३० वर्षीया राधिका श्रेष्ठ, घोराही–१३ की ४० वर्षीया रीतामाया पुन र घोराही–१४ की ४२ वर्षीया विमला केसीको मृत्यु भएको हो ।
श्रेष्ठ दिदीबहिनीको बुधबार राति नै शव भेटिएको थियो भने पुन र केसीको शव बिहीबार बिहान घटनास्थलभन्दा ३ किलोमिटर दक्षिणतर्फ घोराही–३ बेलुवामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
चालक घोराही–१५ का ४३ वर्षीय नरबहादुर पुनको खुट्टा भाँच्चिएको र उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।