गमक पोष्ट समाचारदाता / लहान, १० भदौ । सिरहाका निजी विद्यालयहरु आजबाट विद्यार्थीको भौतिक उपस्थितिमै आज ( बिहिबार) बाट सञ्चालन हुनेभएका छन् । जिल्लाका निजीविद्यालयहरुले बुधबार लहानमा पत्रकार सम्मेलनगरी जिल्लाका सवै निजी विद्यालयहरुले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने जनाएको हो ।
प्यापस्न अध्यक्ष लालबाबु राय र एनप्यासन अध्यक्ष सुदीप कुमार चौधरीद्वारा जारी विज्ञप्तीमा स्वास्थय मापदण्ड पालना गर्दै कक्षा ६ देखि कक्षा १२ सम्मको पठनपाठन सुरुगर्ने उल्लेख गरेको छ । जारी विज्ञप्तीमा जिल्लामा अहिले शैक्षिक संस्था बाहेक सबै क्षेत्र खुला रहेको छ, त्यसैले विद्यालय बन्दगरिनु विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नुजस्तै हो भन्ने उल्लेख गरेको छ ।
कोभिडका कारण लामो समयदेखि विद्यालय बन्दहुदा बच्चाहरु कुलतमा फस्न थालेको, शैक्षिक अवस्था कमजोर हुँदैकोले उनीहरुको विष्यको लागि पनि विद्यालय खोल्नु जरुरी रहेको विज्ञप्तीमा उल्लेख गरेको छ ।
पत्रकार सम्मेलनमा एन प्याव्सनका सल्लाहकार पाण्डव हमालले विद्यालय सञ्चालनका विषयमा जिल्लाका सबै स्थानीय तह, स्थानीय प्रशासन तथा सरोकारबाला निकायहरुसँग छलफल जारी रहेको र जिल्लाका स्थानीय तहले पनि अव चाँडै विद्यालय सञ्चालनको अनुमति दिने बताए । उनलेभने, ‘अहिले जिल्लाको अवस्था समान्य रहेको र बजार, सरकारी कार्यालय, सीमानाका पनि खुलिसकेको अवस्थामा विद्यालय बन्द गरिराख्नुको कुनै तुक छैन । हामीले यस विषयमा पनि सरकोकारबाला सवैसँग सरसल्लाह गरिरहेका छौं ।’
सञ्चारकर्मीहरुको प्रश्नमा हमालले अहिले हामी स्वास्थ्य मापदण्ड अपनायर विद्यालय चलाउने हो, अवस्था हेरेर सवै चलाउने वा बन्द गर्ने विषय पछि निर्णय गर्न सकिने बताए । उनले भने, ‘हामी पनि यहि समाजका मान्छे हौं, सहज रहे चलाउने हो, अवस्था विग्रदै गयोभने पठन पाठन स्थागित पनि सकिन्छ ।’