गमक पोष्ट समाचारदाता / सप्तरी, १० भदौ । खाद्य पदार्थमा अनियन्त्रित मिसावट नियन्त्रण गरी खाद्य स्वच्छता तथा गुणस्तर अभिबृद्धि गर्ने उद्देश्यले राजविराजमा बुधवार खाद्य स्वच्छता सम्बन्धित गोष्ठी सम्पन्न भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको आयोजनामा सम्पन्न सो गोष्ठीमा सप्तरीको बिभिन्न स्थानका खाद्य उद्योगी तथा व्यवसायीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंहले उद्योग पूर्वाधारका आधारहरु, असल उत्पादनको अभ्यास, लेबलिङ्ग एण्ड प्याकेजिङ्ग तथा खाद्य ऐन २०२३ तथा खाद्य नियमावली २०२७ का मुख्य प्राबधान समेटिएर कार्यपत्र प्रस्तुत गरे ।
कार्यक्रममा उपभोक्ता मंचका राजेन्द्र प्रसाद यादव, उद्योगपति मिलन सिंह, राजविराज नगरपालिका ८ का वडाअध्यक्ष जय नारायण मण्डल, पत्रकार राजु विश्वकर्मा लगायतले कार्यपत्र माथि टिप्पणी गर्दै खाद्य स्वच्छतामा जोड दिए ।