गमक पोष्ट समाचारदाता / वीरगञ्ज, ६ भदौ । बहु विवाह तथा ठगी आरोपमा धनुषा प्रहरीले विरगञ्चका एक युवकलाई पक्राउ गरेको छ । घरमा जेठी श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेका वीरगञ्ज महानगरपालिका ११ निवासी २६ वर्षीय विकास कुमार साहलाई सादा पोशाकमा खटिएका धनुषा प्रहरीले जनकपुर उपमहानगरपालिका ४ मुरली चोकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका साहलाई बहुविवाह कसुरमा जिल्ला अदालत धनुषाबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
साहले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुलाई आवश्यक परेका विभिन्न मोवाइल सेट, कम्प्युटर, टि.भी जस्ता इलेक्ट्रोनिक्स सामानको नक्कली टेण्डर छपाई गरी ठगी गरेको उजुरी समेत जिल्ला प्रहरी कार्यालय धनुषाामा परेको डिएसपी बस्नेतले जानकारी दिए । सोही क्रममा डिएसपी बस्नेतले ठगीएका सम्बन्धीत व्यावसायीहरुलाई पनि कार्यालयमा सम्पर्क गर्ने आग्रह गरेका छन् ।