गमक पोष्ट समाचारदाता / जनकपुर, २८ साउन । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई जनसंख्याको अनुपातमा कोभिड १९ विरुद्धको भ्याक्सीन उपलब्ध गराउन केन्द्रिय कोरोना संकट व्यवस्थापन केन्द्रसंग मांग गरेका छन् ।
सिसिएमसी सचिवालयका प्रमुख बालानन्द शर्मा नेतृत्वको टोली सहित मुजेलिया स्थित ग्रामिण प्रशिक्षण केन्द्रमा बसेको पिसिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले दामासाहीभन्दा पनि जनसंख्याको आधारमा भ्याक्सिन उपलब्ध गराउनुपर्ने मांग गरेका हुन् ।
सबैभन्दा बढी जनघनत्व तथा भारतसंगको खुला सीमाका कारण कोरोना महामारीको अति जोखिममा रहेको प्रदेश २ लाई जनसंख्याको अनुपातमा भ्याक्सीन उपलब्ध हुन नसकेको भन्दै मुख्यमन्त्रीले बताए ।
विगतमा केन्द्रिय नेतृत्वलाई कोरोना महामारीको जोखिम बारे बुझन प्रदेश २ को स्थलगत अनुगमनको लागी पटक–पटक आग्रह गर्दा समेत आउन नचाहेको अवस्थामा शर्मा नेतृत्वको टोली प्रदेशमै आएर छलफल गरेकोमा उनले धन्यवाद समेत दिए ।
महामारी नियन्त्रणका लागी आफुहरु उच्चतम प्रयास गर्दै पहिलो र दोस्रो लहरलाई नियन्त्रणमा लिन सफल भएको उल्लेख गर्नु उनले सम्भावित तेस्रो चरणको लागी समेत तयारी अवस्थामा रहेको र त्यसमा केन्द्रको पनि सहयोग र साथ आवश्यक रहेको उल्लेख गरे ।
बैठकमा सिसिएमसी सचिवालयका प्रमुख बालानन्द शर्माले महामारीको सम्भावित तेस्रो लहर तथा निकट भविष्यमा हुने स्मार्ट लकडाउनको विधि बारे जानकारी दिए । कार्यक्रममा स्वास्थ्य निर्देनालयका निर्देशक विजय झाले प्रदेशको कोभिड १९ को अवस्था एवम् धनुषाका प्रमुख जिल्ला अधिकारीले धनुषाको अवस्था बारे व्रिफिङ्ग गरेका थिए ।
बैठकमा आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साह, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह सहितको सहभागिता रहेको थियो ।