गमक पोष्ट समाचारदाता / वीरगञ्ज, २१ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले वेवारिसे अवस्थामा रहेको ५९ कार्टुन स्याउ बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका १६ भुटनदेवी सडक खण्डबाट इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको टोलीले भारतबाट नेपाल भित्र्याउँदै गरेको करिव २८ हजार २ सय ५० रुपैयाँ मूल्य बराबरको स्याउ बरामद गरेको हो ।
नामथर नखुलेका १०÷१५ जनाले टाउकोमा बोकेर अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीलाई देखेर स्याउको कार्टुन त्यँही छोडेर फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद स्याउ २८ हजार २ सय ५० रुपैयाँ मूल्य बराबरको हुनसक्ने जनाएको छ । सो स्याउ आवश्यक कार्वाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक राजेशराज पुरीले जानकारी दिए ।