गमक पोष्ट समाचारदाता / सप्तरी, ९ साउन । हरवा चरवाहरुको सशक्तिकरण कार्यक्रम थप सप्तरीको तीन वटा स्थानीय तहमा कार्यक्रम विस्तार गर्न लागिएको छ ।
द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवा चरवा सशक्तिकरण कार्यक्रमलाई सप्तरीले जिल्लाको बोदे बसाईन नगरपालिका, डाक्नेश्वरी नगरपालिका र रुपनी गाउँपालिकामा बिस्तार गर्न लागेको हो ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा भने यसअघि बिगत तीन बर्षदेखि सो कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
समाजमा रहेको आधुनिक दासताको अन्त्य गर्दै हरवा चरवाहरुको शिक्षामा पहुँच पु¥याउने र समतामुलक समाज निर्माण गर्ने मुख्य लक्ष्यका साथ चार वटा स्थानीय तहमा सन् २०२१ अप्रिल १ देखि सन् २०२३ डिसेम्बर सम्म कार्यक्रम सञ्चालन हुने श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरीले जानकारी दिए ।
विस्तार गर्न लागिएको सो कार्यक्रम बारे जानकारी दिने उद्देश्यले सप्तरीको रुपनी गाउँपालिकाका जनप्रतिनिधि, हरवा चरवा अधिकार मञ्चका पदाधिकारीहरुसँग अन्तरक्रिया गरेको छ । गाउँपालिकाको सभाहलमा आयोजित गाउँपालिका स्तरीय अभिमुखीकरण गोष्ठीमा बिस्तार गर्न लागिएको कार्यक्रम बारे जानकारी दिइएको छ ।
हरवा चरवा परिवारलाई लक्षित गरी शैक्षिकसँगै आर्थिक सशक्तिकरण र सिपमुलक गतिबिधिहरु सञ्चालन गरिने श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरीले बताए ।
कार्यक्रम सञ्चालनका लागि जनप्रतिनिधि र हरवा चरवा अधिकार मञ्चका पदाधिकारी लगायत सबै पक्षको सहयोग आवश्यक रहेको उनले बताए ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यवाहक अध्यक्ष बबिता कुमारी चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, उपाध्यक्ष बेचनीदेवी सरदार, रुपनी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष परमानन्द यादव, वडा नम्बर २ का वडा अध्यक्ष दानालाल साह, वडा नम्बर ५ का वडाअध्यक्ष जगदीश दास लगायतले हरवा चरवाहरुको लागि आवश्यक बजेटसँगै कार्यक्रम सफल बनाउन हरेक किसिमको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

santi nikunj - Copy