गमक पोष्ट समाचारदाता / सप्तरी, ६ साउन । गुणस्तरीय कार्य सम्पादन र व्यवस्थापनको लागि सप्तरीको कल्याणपुर स्थित भीमदल गणमा रहेको सर्पदंश उपचार केन्द्रमा स्थानीय सरकारको सहयोगको आवश्यकता रहेको देखिएको छ ।
मुख्य गरी सुरुङ्गा, खडक, बोदेबर्साइन, शम्भुनाथ नगरपालिका र बलान बिहुल गाउँपालिका कार्यक्षेत्र तोकिएको सर्पदंश उपचार केन्द्रमा थप कोठाहरु, उपचार लागि आवश्यक फर्निचरका सामाग्रीहरु तथा बसाई व्यवस्थापनको खाँचो रहेको केन्द्रका मेजर गोरे गुरुङ्गले बताउनु भएको छ ।
“यो क्षेत्रमा सिरहाको चोहर्बा र सुनसरीको इटहरीमा मात्र सर्पदंस उपचार केन्द्र छन्” उहाँ भन्नुहुन्छ –“यहाँ यो केन्द्र अझै व्यवस्थित भयो भने हाम्रो कार्यक्षेत्रको पाँच ओटा नगरपालिका, गाउँपालिका मात्र होइन, सप्तरीका सबै गाउँपालिका, नगरपालिका अझ सिरहाको पूर्वी भेगका मान्छेहरुलाई पनि राम्रो हुने हो नि ।”
मेजर गुरुङ्गका अनुसार खडक नगरपालिका लगायतका स्थानीय सरकारलाई सर्पदंश उपचार केन्द्र अझ व्यवस्थित बनाउनका लागि जानकारी सहित अनुरोध गरेको र उहाँहरुले आश्वासन दिनुभएको छ । गुरुङ्गका अनुसार पछिल्लो समय केन्द्रमा उपचार सेवा लिने सेवाग्राहीको संख्या वृद्धि हुदै गएपछि जति सक्दो छिटो केन्द्रलाई अझ व्यवस्थित बनाउन आवश्यक छ ।