गमक पोष्ट समाचारदाता / वीरगञ्ज, ४ साउन । सरकारी मोटरसाइकलमा लागू औषध ओसारपसार गरीरहेको अवस्थामा पर्सा प्रहरीले वडा अध्यक्ष र वडा सदस्यलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पकाहमैनपुर गाउँपालिका १ का वडा अध्यक्ष अम्बिका सहनी, वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र ५२ वर्षीय रामआदेश सहनीलाई ७९ ग्राम खैरो हिरोईनसहित पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा आइतवार राति वीरगञ्ज महानगरपालिका १९ वर्वा नजिकैबाट वडा अध्यक्ष सहनी सवार ना १ ब ३५९४ नम्बर को गाउँपालिकाको मोटरसाइकल रोकेर चेकजाँच गर्दा फिल्टर बक्सबाट ७९ ग्राम खैरो हिरोईन फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी ओमप्रकाश खनालले बताए ।
प्रहरीले अमिरिकासँगै आएको ना ६२ प १९४२ नम्वरको मोरसाइलमा सवार वडा सदस्य बलिष्टर र सोही मोटरसाइकल पछाडी सबार रामआदेशलाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।
वडा अध्यक्ष अमिरिका र वडा सदस्य बलिष्टर नेकपा एमालेबाट निर्वाचित जनप्रतिनीधि हुन् । स्रोतका अनुसार उनीहरुलाई छुटाउन नेकपा एमाले पर्साका नेताहरुले जिल्ला प्रहरी कार्यालयमा दौडधुप सुरु गरेका छन् ।