गमक पोष्ट समाचारदाता / काठमाडौं, २१ असार । संसद पुनरस्थापना मुद्दा अदालतमा चलिरहेकैवेला निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ । आयोगले पहिलो चरणको निर्वाचनका लागि असोज २० गते र दोस्रो चरणको निर्वाचनको लागि ३१ गते उम्मेदवारी मनोनयनको कार्यतालिका तयार पारेको हो ।
आयोगले पहिलो चरणको निर्वाचनका लागि असोज २० गते मनोनयन र २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तयार पारेका छ र दोस्रो चरणको निर्वाचनका लागि असोज ३१ गते मनोनयन दर्ता दर्ता गरी कात्तिक ५ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको कार्यतालिका बनेको छ ।
गत जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन पछि सरकारले कात्तिक २६ गते पहिलो र मङ्सिर ३ गते दोस्रो चरणको निर्वाचन घोषण गरेको थियो ।
आयोगका अनुसार पहिलो चरणमा हुने चुनावका लागि असोज २० र २१ गते उम्मेदवार दर्ता गर्ने कार्यतालिका तयार भएको छ । २० गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र २१ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।
यस्तै दोस्रो चरणको निर्वाचनको उम्मेदवारी दर्ता असोज ३१ र कात्तिक १ मा गर्ने तयारी छ । ३१ गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र १ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्ने प्रारम्भिक तयारी छ ।