सुरुङ्गा नगरपालिका–२ भेडिया स्थित विद्यालयमा बिरुवा रोप्दै दुई किशोरीहरु ।

 

गमक पोष्ट समाचारदाता / लहान, १४ असार । हरियाली एवम् स्वच्छ वातावरण व्यवस्थापनका लागि सप्तरीको सुरुङ्गा र खडक नगरपालिकाको केही विद्यालय, स्वास्थ्य चौकी र सामुहिक कृषि खेतमा आज वृक्षारोपण गरिएको छ ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा आठ विद्यालय, तीन स्वास्थ्य चौकी र दुई कृषक समुहको सामुहिक खेतमा निम, महगनी, अशोक, गुलमोहर, सोइजन लगायतका तीन सय भन्दा बढी संख्यामा बिरुवाहरु रोपिएको हो । सेभ द चिल्ड्रेनको साझेदारीमा सबल नेपालद्वारा हरियाली एवम् स्वच्छ वातावरण व्यवस्थापनका लागि वृक्षारोपण गरिएको सबल नेपालका परियोजना संयोजक नन्दकिशोर चौधरीले जानकारी दिएका छन् ।
पहिलो चरणमा बिरुवा संरक्षणको व्यवस्थापन रहेको विद्यालय एवम् स्वास्थ्य चौकीहरुमा वृक्षारोपण गरिएको र आगामी दिनमा पनि नगरपालिकाको सहकार्यमा उपयोगी रुख बिरुवाहरु वृक्षारोपण गरिने जानकारी चौधरीले दिएका छन् । वृक्षारोपण कार्यका लागि सुरुङ्गा नगरपालिकाको नगरप्रमुख मुक्तिनाथ चौधरी, सामाजिक विकास शाखा संयोजक देबेन्द्र प्रसाद चौधरी, नगर शिक्षा अधिकारी हिरालाल राना लगायतको सहभागीता रहेको थियो ।