फाइल फोटो ।
गमक पोष्ट समाचारदाता / काठमाडौं, ३० जेष्ठ । जल तथा मौसम विज्ञान विभागले यसपालि औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेको भन्दै बाढी, पहिरो तथा डुबानबाट बच्न सुरक्षा अपनाउन सम्बन्धित सबै पक्षलाई सुझाएको छ । मनसुन देशभर क्रमशः सक्रिय भइरहेका बेला विभागले यसवर्ष बर्षा अत्यधिक हुने सम्भावना रहेको भन्दै समयमै सुरक्षा व्यवस्था अपनाउन पुनः सुझाव दिएका हुन् ।
वर्षा बढीहुने भएपछि बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावनार रहेको भन्दै विभागका प्रवक्ता सुमनकुमार रेग्मीले विज्ञप्ति जारी गरेको छ । प्रवक्ता रेग्मीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘साना तथा मझौला नदीहरूमा जलप्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरूमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरूमा डुबानसमेत हुन सक्ने अत्यधिक सम्भावना रहेकाले मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायहरूलाई सतर्कता अपनाउन हुन अनुरोध गर्दछु ।’
मौसम विभागद्वारा जरी विज्ञप्तीमा मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांश स्थान, प्रदेश नम्बर १ का मध्य तथा पश्चिम पहाडी र हिमाली भेगमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ ।
लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई र प्रदेश नम्बर २ को पश्चिमी भेगमा सरदर वर्षा हुने तथा प्रदेश नम्बर १ को तराई र प्रदेश नम्बर २ का पूर्वी जिल्लामा सरदभन्दा कम वर्षा हुने अनुमान गरिएको छ ।